पाटन (ललितपुर), १९ भदौः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन केबल नेतृत्व चयनको प्रक्रिया मात्र नभई नीति, दिशा र उद्देश्य निर्धारण गर्ने ऐतिहासिक अवसर भएको बताउनुभएको छ ।

‘आफ्नै देशको उत्पादन हाम्रो सान, कृषिमा उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ आजदेखि काठमाडौँमा सुरु भएको नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल किसान महासङ्घको चौथो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले १४ वर्षपछि हुन लागेको यस महाधिवेशनले नेपाली किसानमा नयाँ ऊर्जा र हौसला प्रदान गर्ने बताउनुभयो ।

“म सङ्गठनलाई अझ प्रभावकारी, उत्तरदायी र किसानमैत्री बनाउन महाधिवेशन सफल होस् भन्ने कामना गर्दछु”, उहाँले भन्नुभयो, “नेपाली कांग्रेसको गौरवशाली इतिहासमा किसान आन्दोलन सधैँ प्राथमिकतामा रहिआएको छ, नेपाली कांग्रेसले समाजवादको बाटो अपनाउँदा, त्यो बाटो किसान, श्रमिक र सर्वसाधारणको उन्नति, प्रगति र मुक्तिका लागि थियो ।”

उहाँले नेपाली कांग्रेसको लक्ष्यप्राप्तिका लागि लोकतन्त्रवादी किसानलाई गोलबद्ध गर्दै किसानको हकहितका पक्षमा आवाज बुलन्द गर्न महासङ्घ स्थापना भएको उहाँको भनाइ थियो । “आज हामी त्यस्तो समयको मोडमा छौँ, जहाँ कृषकले विभिन्न चुनौतीको सामना गरिरहनुभएको छ, जलवायु परिवर्तन, उत्पादनको उचित मूल्य नपाउनु, सिँचाइको अभाव र कृषि अनुदान तथा सहुलियत सेवामा पहुँचको अभावजस्ता समस्याले किसान पीडित छन् । यस्तो अवस्थामा, किसान महासङ्घले यी विषयलाई नीतिगत तहमा पु¥याउनु र समाधानका लागि दबाब सिर्जना गर्नु अत्यन्त आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँले कृषिमा आत्मनिर्भर हुन वास्तविक किसानले अनुदान प्राप्त हुने अवस्थाको सुनिश्चितता आवश्यक भएको उल्लेख गर्नुभयो ।

उहाँले कृषिलाई व्यवसायीकरण गर्ने, कृषि उत्पादनमा प्रविधिको प्रयोग बढाउने, कृषकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन जरुरी रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले महाधिवेशनमार्फत आउने नेतृत्वले पार्टीको केन्द्रीय समितिलाई किसानको समस्या समाधानका लागि नीतिगत विषयमा सुझाव दिन आग्रह गर्नुभयो । उहाँले निराशा बाँडेर कुनै उपलब्धि हासिल गर्न सक्दैनौँ भन्दै किसानको समस्या समाधानका किसान महासङ्घको आउने नेतृत्वले प्रभावकारी काम गर्नेमा विश्वास गर्नुभयो ।

कांग्रेसका उपसभापति धनराज गुरुङले कृषिमा उत्पादकत्व कसरी बढाउने भन्नेमा ध्यान दिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले तीनै तहको सरकारले किसान र कृषि क्षेत्रको समस्या समाधान गर्नेगरी लाग्न आवश्यक रहेको बताउनुभयो । पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले नेपालमा कृषि क्षेत्रमा सम्भावना धेरै रहेको भन्दै कृषिको बजेटलाई बढाएर त्यहीअनुसार व्यवस्थापन गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल किसान महासङ्घको महाधिवेशनबाट चयन हुने नेतृत्व नेतामुखीभन्दा किसानको हितमा केन्द्रिकृत हुनुपर्ने बताउनुभएको छ ।

महामन्त्री थापाले देशको कुनै पनि किसानले आफ्नो हितमा काम गर्ने किसान महासङ्घ छ भन्ने महसुस गराउन सक्ने नेतृत्व चयन हुनुपर्ने धारणा राख्नुभयो ।

“नेपाल किसान महासङ्घले किसानको समस्या र मुद्दाको सही पैरवी गर्न सकोस्, चार अर्ब रुपैयाँभन्दा बढीको आयात गरेर खान्छौँ, हाम्रो उत्पादकत्व बढाउन किसान महासङ्घले पहल गरोस्”, उहाँले भन्नुभयो ।

उहाँले किसानका समस्यामा सरकारमाथि निरन्तर दबाब सृजना गर्ने काम नेपाल किसान महासङ्घले गर्नुपर्नेमा जोड दिनुभयो ।सहमहामन्त्री भीष्मराज आङ्देम्बेले उत्पादन हुने खेतबारी कङ्क्रिटयुक्त हुँदै गएको भन्दै राज्यले खेतीयोग्य जमिनको संरक्षण गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्नाका साथै किसानका समस्या समाधानमा पार्टीका तहगत संरचनाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका प्रवक्ता एवं डा प्रकाशशरण महतले दुई तिहाइ किसान कृषि पेसामा आबद्ध हुँदा पनि देशको आम्दानीमा एक चौथाइ मात्रै उपलब्धि हासिल भएको बताउनुभयो । उहाँले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै यान्त्रिकरणका माध्यमबाट कम जनशक्तिको उपयोगबाट उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले किसानको जीवनमा आउने आर्थिक परिवर्तनले देशको आर्थिक समृद्धि हासिल हुने धारणा राख्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्थामार्फत किसानको हकहितलाई बलियो बनाउन योग्य नेतृत्व चयन गर्न शुभकामना दिनुभयो ।

नेपाल किसान महासङ्घको महाधिवेशन निर्देशक समितिका संयोजक रमेश रिजालले सकारात्मक सन्देश दिनेगरी सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर