महोत्तरी, ७ भदौ । पूर्वीय वैदिक परम्पराका अनुयायी हिन्दू मैथिल आज ‘कुशअमबसीया’ पर्व मनाउँदैछन् ।
मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज वैदिक मन्त्र उच्चारण गर्दै कुश उखालेर घरमा राख्ने यो पर्व शुभकार्य र पितृकार्यका दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।

हिन्दू परम्पराका सबैजसो शुभकार्य र पितृकार्यमा अनिवार्य मानिने कुश भदौ औँसीका दिन वर्षभरलाई पुग्ने सङ्ग्रह गर्ने परम्परा छ । यस दिन कूल पुरोहितले पनि आफ्ना यजमानका घरमा शास्त्रोक्त विधिले अभिमन्त्रित गरिएर उखालिएको कुश दलिनमा सिउरी दिन्छन् । यद्यपि मिथिलामा भने घरमूली आफैँले पनि बिहानको ब्रह्ममुहुर्तमा कुश उखालेर घरमा सिउरिने चलन छ ।

पर्वते परम्परामा बाबुको मुख हेर्ने दिन भनिने भदौ आँैसीका दिन मैथिल परम्परामा पनि दिवङ्गत पिताको श्राद्ध गर्ने चलन छ । बाबु जीवितै हुनेले यो दिन नयाँ वस्त्र फेराएर मिष्ठान्न परिकार भोजन गराउँछन् । यसै दिन दिवङ्गत पितृका लागि हिन्दू परम्परामा तीर्थ श्राद्धको पनि परम्परा रहेको छ ।

बाबुको मुख हेर्ने दिनको परम्पराले आज टाढाटाढाबाट बाबु भेट्न पुग्नेको चहलपहल बढेको छ । पर्वविशेषले यस भेगका सबैजसो बजारका मिठाई पसल र कपडा पसलमा बाबुका लागि उपहार किन्नेको एकाबिहानैदेखि भीड लागेको छ ।

नेपाली जनजिब्रोमा कुशेऔँसी भनिने दिनलाई नै मैथिल जनजिब्रो कुशअमबसीया भनेको हो । यो पर्वलगत्तै हिन्दू नारीको महान् पर्व तीज र लगत्तै मिथिलामा निष्ठासाथ मनाइने चौरचन पर्वले पनि यहाँ चहलपहल बढेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर