काठमाडौं, २७ साउन । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सभापति पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले आज प्रतिनिधि सभाको बैठकमा बोल्दै राजीनामाको घोषणा गरेको हो ।
राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको भनि संसदीय छानबिन समितिको प्रतिवेदन आएपछि सभापति खतिवडा नैतिक जिम्मेवारीको आधारमा राजीनामा दिनुभएको हो ।
राजीनामा दिनु अघि सभामा बोल्दै खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा समेत रहिरहने बताएउँदै निजामती सेवा विधेयकको प्रतिवेदनमा आफ्नो हस्ताक्षर रहेको स्विकार गर्नुभयो ।
सरकारी कर्मचारीलाई अवकाश लगत्तै संवैधानिक र कूटनीतिक नियुक्ति दिन नहुने र यसो गर्दा सरकारको कामकारबाही प्रभावित हुने र भविष्यमा पाउने पदका लागि कर्मचारी रहँदै गलत कार्य हुन सक्ने औंल्याउँदै गलत हुन नदिन प्रयास गरेको र निजामती विधेयकमा कुलिङ अफ पिरियड लागू गर्ने कार्यमा आफू नेतृत्वको समिति लागेको उहाँले बताउनुभयो ।
