काठमाडौँ, १५ जेठ ।  विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

अध्यक्ष ठाकुर नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन उपेन्द्र यादव पक्षले  पत्र पठाइएको छ  ।

 यसअघि स्पष्टीकरण दिन भन्दै पत्राचार भएकोमा प्राप्त नभएकाले दोस्रो पटक २४ घण्टाको अल्टिमेटम दिएर स्पष्टीकरण पत्र पठाइएको हो ।गत जेठ ८ गते बसेको उपेन्द्र यादव पक्षको बैठकले अध्यक्ष महन्थ ठाकुरलाई पार्टीको निर्णयविपरित ओलीलाई प्रधानमन्त्रीमा आफ्नो दलको समर्थन छ भन्ने पत्र राष्ट्रपति कार्यालयमा बुझाएको विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए राजनीतिक दलसम्बन्धी ऐन, २०७३  र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधानको ६४(५) अर्थात हाल संशोधित धारा ६९(५), ५०(१) र जेठ ८ मा भएको निर्णयको बुँदा नम्बर ४ बमोजिम निष्काशन समेतको कारबाही हुने चेतावनी दिइएको छ ।

पार्टीभित्र चर्किँदो विवादका बीच ठाकुर समूहले पनि उपेन्द्र यादवलगायतलाई स्पष्टीकरण सोधेको थियो । तर यादवले पनि दिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर