काठमाडौँ, १९ साउनः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । आज साँझ प्रकाशित नतिजाअनुसार नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
गत वैशाख २१ गतेदेखि सञ्चालन गरिएको परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएकामा दुई लाख ४२ हजार ७६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । यसमा ३८ दशमलव ८३ विद्यार्थीले ‘ननग्रेड’ प्राप्त गरेका बोर्डले जनाएको छ ।
यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएकामा ४१ हजार ८४० ले ग्रेड प्राप्त गरेका छन् । समग्रमा कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीमध्ये दुई लाख ८४ हजार ३०५ जनाले ग्रेड प्राप्त गरेका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । यस्तै, नियमिततर्फ ११ र आंशिकतर्फ छ गरी १७ जनाको परीक्षा रद्द गरिएको छ ।
यस वर्ष ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी १३ हजार ५ सय २ जना रहेका छन् । त्यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ५५ हजार ८ सय ९६ रहेको छ । २.८१ देखि ३.२० जीपए ल्याउनेको संख्या ६९ हजार ८ सय १२ रहँदा २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ८ हजार ९ सय ६४ रहेको छ । त्यस्तै जीपीए १.६१ देखि २ जीपीए ल्याउनेको संख्या २३ रहेको छ ।
ननग्रेड आएका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने बोर्डले जनाएको छ ।
—
