काठमाडौं, १४ जेठ । काठमाडौं उपत्यकामा आज (शुक्रबार) देखि जारी निषेधाज्ञामा थप कडाइ गरिएको छ । आजदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिएको छ, तरकारी पसल भने विहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ।यो निषेधाज्ञा आज बिहानदेखि २० गते रातिसम्म लागू हुने छ।
यसपालि निषेधाज्ञमा अत्यावश्यक खाद्य सामग्री (तरकारी, फलफूल, दूध, डेरी, मासु, खानेपानी र ग्यास) खरिद, बिक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने भएको छ । यसअघि बिहान १० बजेसम्म खुला गरिएको थियो । उक्त अवधिमा सबै प्रकारका भीडभाड हुने गतिविधिमा रोक लगाइएको छ ।
औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन । सार्वजनिक एवं निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन हुनेछ ।
काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध थप कठोर हुने जनाएका छन् । झण्डै एक महिनादेखि शुरु भएको निषेधाज्ञाका कारण कोभिड–१९ नियन्त्रणमा केही सफलता प्राप्त गरे पनि आशातीत उपलब्धि हुन नसकेको निष्कर्ष निकालेका प्रशासन कार्यालयले अबको हप्ता भने आदेशको कडाइका साथ कार्यान्वयन गरिने र नमान्नेलाई जेलसम्म हाल्ने गरी प्रस्तुत हुन लागेको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गम्भीर रुपमै प्रस्तुत हुनुपर्ने देरिएकाले अबको हप्ता पसलसमेत सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । पराजुलीले भन्नुभयो, “सङ्क्रमण नियन्त्रण गर्नैपर्ने छ, आम नागरिकलाई भन्छु एक हप्ता कष्ट सहेरै भए पनि घरमै बसौँ ।”
बढ्दो सङ्क्रमण रोक्न काठमाडौँ प्रशासन कार्यालयले सूचना नै जारी गरेरै कोभिड सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८ कार्यान्वयन गरी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन अत्यावश्यक रहेका उल्लेख गर्दै उल्लङघन गर्नेलाई जेलसम्म हाल्ने चेतावनी दिइसकेको छ ।
यस्तै अध्यादेश बमोजिम दिइएको आदेश व्यक्तिले उल्लंघन गरेमा १ लाख र संस्थाले गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्नेछ।
