रसुवा, २४ असार : नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै फसेका बताउनुभयो ।

हेलिकप्टरमार्फत उनीहरूको उद्वार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्यायो भन्ने सम्बन्धमा तथ्याङ्क सङ्कलन भइरहेको पनि उहाँले जानकारी दिनुभयो । यस्तै रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्वारका पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ ।

  सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति

गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी बगाएको छ ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेका आठ–नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ ।

बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्याएको जानकारी दिइएको छ । खोलामा बढी आएलगत्तै सशस्त्र प्रहरी बल रसुवाबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमाण्डमा तालिमप्राप्त सातसहित २१ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

भोटेकोशीको बहाब कायमै रहेकाले उद्धार सामग्रीसहित खटिएका टोली घटनास्थल क्षेत्रमा पुग्ने प्रयास गरिरहेको जानकारी दिइएको छ ।

रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध रहेको जानकारी दिइएको छ

 उद्धार कार्यलाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह
सत्तारुढ दल नेपाली कांग्रेसले रसुवास्थित नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको बाढीपछि उद्धार र राहत कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी रसुवामा आएको बाढीले गरेको जनधनको क्षतिले सबैलाई दुःखित र गम्भीर बनाएको बताउनुभयो । उक्त घटनामा परेर हालसम्म तीन प्रहरीसहित १५ नागरिक बेपत्ता भएको जानकारी प्राप्त भएको उल्लेख गर्दै विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

वर्षाको समयमा हरेक वर्ष बाढी पहिराको प्रकोप सामना गर्नुपरेको र बेमौसममै पनि गत वर्ष असोज १२ गते गम्भीर विपत्ति व्यहोर्नुपरेको स्मरण गर्दै÷स्मरण गराउँदै कांग्रेसले एक्यबद्ध ढङ्गले प्रकोपको सामना व्यवस्थित योजनाका साथ गर्न तीनै तहको सरकारलाई आग्रह गरेको छ । कांग्रेसले नागरिक तहबाट अपनाउनुपर्ने उच्च सतर्कताका लागि पनि सार्वजनिक अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर