काठमाडौँ, १२ जेठ । जनता समाजवादी पार्टी  नेपालमा एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने क्रम सुरु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई नौ बुँदे, वरिष्ठ नेता राजेन्द्र महतोलाई ६ बुँदे, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई ५–५ बुँदे स्पष्टीकरण सोधेको जवाफ न आउदै अर्का अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादबलाई स्पष्टीकरण सोध्नुभएको छ ।  दुबै पक्ष एक अर्कालाई कारवाही गर्ने तयारीमा जुटेका छन ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको निर्णय विपरीत गुटगत गतिविधि सञ्चालन गर्दै आएको भन्दै पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको हो । अध्यक्ष यादवलाई तीन दिनभित्र पार्टी कार्यालयभित्र पठाउने गरी सातबुँदे स्पष्टीकरण सोधिएको छ ।

पछिल्ला दिनमा जसपाको मूल्यमान्यता, नीति तथा पार्टीको विधान विपरीत कार्य गर्दै आएकाले विधानबमोजिम अनुशासनको बारबार्हीको व्यवस्थाअनुसार स्पष्टीकरण सोधिएको अध्यक्ष ठाकुरद्वारा मङ्गलबार अबेर जारी विज्ञप्तिमा भनिएको छ ।

स्पष्टीकरणमा लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई निष्कासन गरेको, विपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग मिलेर सर्वोच्च अदालतमा संसद् पुनःस्थापनाको माग गर्दै रिट दायर गर्न गएको, एकलौटी रुपमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बसी निर्णय गरिएको विषयमा प्रश्न सोधिएको छ ।

त्यसैगरी, पार्टीको संसदीय दलको निर्णयअनुरूप प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा ठीक विपरीत विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेमा कुन कारणले हस्ताक्षर गरेको तथा सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गरेको भनी प्रश्न उठाइएको छ ।

यस्तो छ उपेन्द्र यादवले महन्थ ठाकुरलाई सोधेको नौ बुँदे स्पष्टीकरण

१। प्रधानमन्त्री केपी शर्मा ओलीको  संसद विघटन  गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीति विपरित किन साथ दिएको    ?

२। पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक वेवास्ता गर्ने, अनुपस्थित हुने र आफ्नो समर्थकलाई मात्र बोलाई पार्टी विधान र आचारसंहिता विपरित गुटबन्दीपूर्ण क्रियाकलाप किन गरेको  ?

३। पार्टीको केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा हुँदा हुँदै छुट्टै कार्यालय सञ्चालन गर्ने कार्य किन गरेको  ?

४। पार्टीको निर्णयबिना राष्ट्रपति कार्यालय, निर्वाचन आयोग, संसद सचिवालयमा पार्टीको तर्फबाट पत्रहरू लेख्ने पठाउने कार्य किन गरेको  ?

५। जेठ ३ गते दुई अध्यक्षले जारी गरेको ८ बुँदे सहमतिको विज्ञप्ति पालना किन नगरेको ?

६। पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नबनिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र के आधारमा संसदीय दलको नेता घोषणा गरी संघीय संसदलाई पत्र पठाएको ?

७। पार्टीको आधिकारिक निर्णयबिना सरकारसँग वार्ता गर्ने भनेर लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई सरकारसँग वार्ता कार्यदलमा किन पठाएको  ?

८। विधानमा नभएको व्यवस्थालाई आफूखुशी स्वेच्छाचारिता लाद्ने र पार्टीलाई आफ्नो पाकेटको बनाउने कार्य एवम् क्रियाकलाप किन गरेको  ?

९। उपरोक्त विषयहरूका आधारमा तपाईंबाट पार्टीमा गुटबन्दी गर्ने र अनुशासन भंग गर्ने गराउने कार्य भइरहेको तपाईंमाथि पार्टी विधानको धारा ४९ बमोजिम अनुशासन सम्बन्धी कारवाही किन नगर्ने  ?

 

प्रतिक्रिया

सम्बन्धित खवर