भीमफेदी (मकवानपुर), १२ जेठ: यहाँको पालुङमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
दुर्घटनामा परी हाल ठेगाना नखुलेका अन्दाजी ३५–४० वर्षका कृष्ण बलामी र लोकेन्द्रकुमार ठाकुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जनाको शव पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
प्रहरीका अनुसार आज साँझ थाहा नगरपालिका–३ विद्युत् प्राधिकरण नजिकै त्रिभुवन राजपथ सडकखण्डमा गोपाली गाउँबाट थानाबजारतर्फ गइरहेको बा ३ ख ५९९० नं को यात्रुवाहक बस सडकमा हिँडिरहेका पैदलयात्रुलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरमा खसेको थियो ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिनबाबु अर्यालको कमाण्डमा खटिएको टोलीले घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको हो ।
घाइतेमध्ये अन्दाजी ३५–३६ वर्षका रघुनन्दन यादव र कमलेशकुमार साहलाई थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर रिफर गरिएको छ । त्यस्तै, बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ का ३२ वर्षीय छेयाङ दोर्जे लामा र त्यहाँकै कोल्हवी नगरपालिका–१ का ३० वर्षीय रामगुलाम चौधरीको पालुङमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक अर्यालले प्रारम्भिक जानकारी अनुसार बसमा चालक थाहा नगरपालिका–५ निवासी २९ वर्षीय राजेश कार्की मात्र रहेका र मृतक तथा घाइते भएकाहरू पैदलयात्री रहेको बुझिएको बताउनुभयो । चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट दुईको मृत्यु
ट्याक्टरको ठक्करबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित फुल चोकमा आज दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १–०२–००३ त ९०२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इनरुवा नगरपालिका–१० का २० वर्षीय सर्पराज अन्सारी र हरिनगर गाउँपालिका–१ का २१ वर्षीय महजित अन्सारी गम्भीर घाइते भएका थिए । दुवैलाई उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल लगिएको थियो । उपचारका क्रममा सर्पराजको दिउँसो १ः५० बजे र महजितको २ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक भोक्राहा नरसिंह–३ का ४६ वर्षीय सुब्जी राम चमारलाई जिल्ला प्रहरी कार्यलयले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
