काठमाडौँ ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठन गठन गर्न सकिने स्पष्ट गर्नुभएको छ । विपक्षी दलले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रुपमा हस्ताक्षर गराएर प्रधानमन्त्रीका लागि दावी गरेको जनाउँदै उहाँले यस कारण पनि मुलुक मध्यावधि निर्वाचनमा गएको बताउनुभयो ।
प्रेस चौतारी नेपालले आज आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा उहाँले निर्वाचनमा भाग लिन सबै पक्षलाई आग्रह गर्दै संविधानबमोजिम आफ्नो नेतृत्वको राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जान आफू तयार रहेको स्पष्ट गर्नुभयो । संसदीय राजनीतिक प्रणालीका आधारमा आफूले प्रधानमन्त्रीमा गरेको दावी उपयुक्त भए पनि विश्वासको मत पाउने सक्ने आधार नदेखेपछि राष्ट्रपतिले दुवै पक्षको दावी अस्वीकार गर्नुभएको धारणा उहाँले राख्नुभयो।
नेकपा (एमाले) का अध्यक्ष ओलीले निर्वाचन अगाडि सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइने सरकारको प्रयास हुने पनि बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट कोभिड नियन्त्रणमा प्राथमिकता दिँदै जेठ १५ गते नै अध्यादेशबाट आउने जानकारी दिनुभयो । एक प्रश्नका जवाफमा उहाँले पार्टीमा रहेर सरकारविरुद्ध विपक्षीसँग साँठगाँठ गर्नेहरुलाई कारबाही गरिने स्पष्ट गर्नुभयो ।
निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उहाँले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिनुभयो ।
उहाँका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिसक्नुभएको छ । नेपालमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् । अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको दोस्रो र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएका छन् ।
