काठमाण्डौं, ३१ बैशाख । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले प्रयोग गर्दै आएको जमिनको जग्गाधनी पुर्जा पाएका छन्।

पहिले देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडको नाममा गल्तीले नापी भएकोले स्थानीयले पुर्जा बनाउन सकेका थिएनन् । नापीको गल्तीले त्यसरी अर्काको नाममा दर्ता भएपछि त्यहाँका वास्तविक जग्गाधनीहरू पुर्जा पाउन बन्चित भएका थिए ।

‘आफ्नो नाममा जग्गा ल्याउन ३५ वर्षसम्म कुर्नुपर्‍यो,’ स्थानीय रामबहादुर दनुवारले खुशी व्यक्त गर्नुभयो। उहाँले नगरप्रमुख महेश खरेलबाट १४ आना दुई पैसा क्षेत्रफलको जग्गाको पुर्जा प्राप्त गर्नुभएको छ ।

लालपूर्जा नभएकाहरूका लागि स्थानीय अगुवाले वर्षौँदेखि पुर्जा दिलाउन प्रयास गर्दै आएका थिए। फलस्वरुप नगरप्रमुख खरेलले त्यहाँका २६ परिवारलाई हिजो जग्गा धनीपुर्जा वितरण गर्नुभयो।

खाँडको नाममा दर्ता भएको उक्त जग्गामध्ये हाल करिब २७ रोपनीको पुर्जा बनाएर वितरण गरिएको हो।

‘पहिलो चरणमा बनेको पुर्जा २६ जना जग्गाधनीलाई दिइयो, बाँकी जग्गाको पुर्जा बनाउने प्रक्रिया जिल्ला मालपोत कार्यालयमा अन्तिम चरणमा छ, बनेपछि अन्यले पनि पाउँछन्’ नगरप्रमुख खरेलले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर