गोरखा, १७ मङ्सिरः गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले चार सय दुई मत प्राप्त गर्नुभएको मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिनुभयो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुर्गामाया राना थापाले तीन सय ४५ मत प्राप्त गर्नुभयो ।
कूल दुई हजार दुई सय २५ मतदाता रहेको उक्त वडामा एक हजार तीन सय ७३ मत खसेको थियो । खसेको मतमध्ये १८ मत बदर भएको मुख्य निर्वाचित अधिकृत रानभाट जानकारीले दिनुभयो ।
उपनिर्वाचनमा विभिन्न नौ राजनीतिक दलका नौ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । विसं २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी हुनुभएका एमालेका खीलबहादुर रानामगरको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।
उपनिर्वाचनः झापा कन्काई-६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी
भद्रपुर (झापा), १७ मङ्सिरः झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको छ ।
आज भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेकपा (एमाले) का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र) का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गर्नुभयो ।
यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा (एमाले) का दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित हुनुभएको थियो ।
कन्काई–६ मा कूल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी दिनुभयो ।
—
