काठमाडौँ, ६ कात्तिकः सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल असोज दोस्रो साताको भारी वर्षापछिको बाढी-पहिरोले बगाएपछि बेलिबृज जडानको कार्य सकिएर सञ्चालनमा आएको छ । मंगलबारदेखि बेलिबृज सञ्चालनमा ल्याइएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

सुनकोशी नदीको बाढीले रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्ड बगाएको थियो । उक्त खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेसँगै मंगलबारदेखि सो पुलबाट सवारीसाधन सञ्चालन आएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान गर्नुभएको छ ।

गत असोज १२ को बाढीले सिन्धुली र रामेछाप जोड्ने पक्की पुल बगाएपछि सोही स्थानमा दु्रतगतिमा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सडक, पुलसम्बद्ध प्राविधिक तथा नेपाली सेनालाई एक समारोहबीच मन्त्री दाहालले सम्मान गर्नुभएको हो ।

आज बिपी राजमार्गअन्तर्गत सिन्धुली एवं रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका क्रममा खुर्कोट पुग्नुभएका यातायातमन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको बताउनुभयो ।

सो अवसरमा सडक विभागका महानिर्देशक रामहरि पोखरेल, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपाने, पुल महाशाखा प्रमुख लीलजन खनालसहित टोलीको उपस्थिति थियो ।

बाढीले रामेछापतर्फको ५१ मिटर पक्की पुल बगाएपछि आवागमन पूर्णरुपमा अवरुद्ध भएकामा आजदेखि यातायात सञ्चालनमा आएको नेपाली सेनाले जनाएको छ । बेलिब्रिज सञ्चालनमा आएसँगै गाडीको भारबहन क्षमता परीक्षण गरी यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताइयो ।

सम्मान कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङसहित स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु, सरकारी अधिकारीसहित स्थानीय जनताको उपस्थिति थियो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर