तेल अभीभ, इजरायल, ९ भदौ । लेबनानसँगको बढ्दो तनावका बीच इजरायलले आगामी ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ ।

इजरायलका रक्षामन्त्री योव ग्यालान्टले सङ्कटकाल घोषणा गर्नुभएको छ र यसले इजरायली रक्षा बल (आईडीएफ) को आन्तरिक मोर्चाको नेतृत्वलाई प्रतिबन्धहरू जारी गर्न सहज हुनेछ ।

मन्त्रीपरिषद्ले विस्तार नगरेसम्म यो अवस्था ४८ घण्टाका लागि मान्य हुनेछ ।

इजरायलमा तनाव बढ्दै गएको छ । यस क्षेत्रमा थप जोखिम बढेसँगै इजरायली नागरिकलाई उच्च सतर्कताका रहन भनिएको छ ।

आज बिहान इजरायली डिफेन्स फोर्स ९आईडीएफ० का प्रवक्ता रियर एडमिरल डेनियल हागारीले हिजबुल्लाहको आक्रमणको बदलामा इजरायलले दक्षिणी लेबनानमा रहेका लेबनानी नागरिकलाई आक्रमण हुनसक्ने भन्दै सावधानी अपनाउन आफ्ना नागरिकलाई सचेत गराउनुभएको छ ।

एक पत्रकार सम्मेलनमा आइडिएफका प्रवक्ताले भन्नुभयो, “हिजबुल्लाहले दक्षिणी लेबनानबाट नजिक इजरायली क्षेत्रमा आक्रमण गरिरहेको छ । यसको बदलामा इजरायलले हिजबुल्लाहमाथि आक्रमण गर्ने तयारी गरिरहेको छ । तसर्थ हामी उक्त क्षेत्रमा रहेका लेबनानी नागरिकलाई तुरुन्तै स्थान खाली गर्न आग्रह गरेका छौँ ।”

“आईडीएफले इजरायली नागरिकको सुरक्षाका लागि आवश्यक सबै तयारी गरिरहेको छ र गर्नेछ,” उहाँले भन्नुभयो ।

गत महिना तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानिया र लेबनानमा हिजबुल्लाह कमाण्डर मारिएपछि इरानले इजरायलसँग बदला लिने चेतावनी दिएको थियो । इरानको सम्भावित आक्रमणविरूद्ध इजरायलले कडा प्रतिशोधको तयारी गरिरहेको छ ।

हिजबुल्लाहका हजारौं रकेट लन्चर नस्ट गरेको इजरायलीे दावी
इजरायली सेनाले आफ्नो लडाकू विमानले उत्तरी र मध्य इजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले पठाएका हजारौं रकेट लन्चरलाई लेबनानको दक्षिणी सिमानामा आक्रमण गरेको जनाएको छ ।

“ करिब १०० आईएएफ लड़ाकू विमानले दक्षिणी लेबनानमा रहेका हजारौं हिजबुल्लाह रकेट लञ्चर ब्यारेलमा आक्रमण गरी नष्ट गरिएको छ,” इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तीमध्ये अधिकांश उत्तरी इजरायलतर्फ लक्षित थिए भने केही मध्य इजरायलतर्फ लक्षित थिए ।

इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल नदाव शोशानीले भन्नुभयो, “हिजबुल्लाले उत्तरी इजरायलतर्फ सयौँ रकेट र युएभी प्रहार गरेको छ ।”

“हिजबुल्लाहबाट भएको आक्रमण ‘योजनाबद्ध रूपमा गरिएको ठूलो आक्रमण योजनाको एक हिस्सा थियो र हामी आज बिहान यसको ठूलो मात्रालाई विफल पार्न सफल भयौँ,” हिजबुल्लाहले के लक्षित गरेको थियो भन्ने जानकारी दिन अस्वीकार गर्दै शोशानीले भन्नुभयो ।

“हामी अहिले आक्रमणपछिको अवस्थाको आँकलन गरिरहेका छौँ । अझै पनि केही आक्रमणहरू भइरहेका छन्,” शोशानीले भन्नुभयो ।

“आक्रमणबाट त्यहाँ सामान्य क्षति भएको छ,” उहाँले भन्नुभयो ।

शोशानीले हिजबुल्लाहमाथि आइतबार भएको आक्रमणमा अमेरिकासहित इजरायलका साझेदारले भाग नलिएको बताउनुभयो ।

उहाँले भन्नुभयोे, “आइतबार बिहान इजरायलीतर्फबाट केही कारबाही भएका छन्।” एएनआई, एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर