भारतः १० वैशाख । भारतमा मुम्बई नजिकैको कोभिड बिरामी उपचाररत अस्पतालको सघन उपचार कक्ष, आईसीयूमा भएको आगलागीमा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
आज बिहान लागेको आगो निभाइएको र जीवित चार बिरामीलाई अन्य अस्पतालमा सारिएको अधिकारीहरूले बताएका छन् ।
यो घटना भारतमा कोरोनाभाइरस सङ्क्रमणको घातक दोस्रो लहर चलिरहँदा भएको छ ।
दोस्रो लहरका कारण अस्पतालहरूमा बिरामीको भिड छ र तिनमा अक्सिजन, आईसीयू शय्या र भेन्टिलेटरको कमी भएको छ ।
आज भारतमा तीन लाख ३२ हजार सात सय ३० जनामा सङ्क्रमण पुष्टि भएको छ जुन संसारका कुनै पनि देशमा एक दिनमा पुष्टि भएको सर्वाधिक सङ्क्रमण सङ्ख्या हो ।
आज प्राप्त पछिल्लो विवरण अनुसार त्यहाँ थप २,२६३ जनाको मृत्यु भएको छ जुन भारतमा हालसम्मको सर्वाधिक दैनिक मृत्यु सङ्ख्या हो ।
आगलागी महाराष्ट्र राज्यमा मुम्बईभन्दा ७० किलोमिटर पर रहेको विरार क्षेत्रको विजय वल्लभ अस्पतालमा भएको थियो ।
आगलागी कसरी सुरु भयो भन्ने स्पष्ट छैन र महाराष्ट्रमा मुख्यमन्त्रीले अनुसन्धान गर्ने आदेश दिनुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो घटनालाई दुःखद भन्नुभएको छ ।
भारतमा सङ्क्रमण बढ्दै गएर स्वास्थ्य सेवामा अभूतपूर्व दबाव परेपछि मोदीले अतिप्रभावित राज्यका मुख्यमन्त्री र अक्सिजन निर्माताहरूसँग छलफल गर्दै हुनहुन्छ ।
भारतको सर्वोच्च अदालतले शुक्रवारसम्म अक्सिजन, औषधि र खोप आपूर्ति एवम् उपचारको राष्ट्रिय योजना बुझाउन सरकारलाई आदेश दिएको छ ।
अदालतले राष्ट्रिय स्वास्थ्य आपत्कालको अवस्था रहेको बताएको छ ।
दुई दिनअघि महाराष्ट्रको अर्को अस्पतालमा भेन्टिलेटरमा अक्सिजन रोकिँदा २४ कोभिड बिरामीको मृत्यु भएको बताइएको थियो । नासिकको जाकिर अस्पतालमा अक्सिजन ट्याङ्की भरिँदै गर्दा अक्सिजन फुस्किएर त्यस्तो भएको जनाइएको थियो ।
महामारीबाट गम्भीर रूपमा प्रभावित राजधानी दिल्लीका छवटा अस्पतालमा अक्सिजन पूर्ण रूपमा सकिएको चिकित्सकहरूले जनाएका छन् । अन्य अस्पतालहरूमा केही घन्टाको निम्ति मात्रै अक्सिजन बाँकी रहेको बताइएको छ । अक्सिजनको अभावमा कैयौँ बिरामीहरूले ज्यान गुमाएका भन्ने विवरणहरू आएका छन् । ९९ प्रतिशतभन्दा धेरै सघन उपचार कक्षका शैय्या बिरामीले भरिएको अधिकारीहरूले जनाएका छन् । अक्सिजन आपूर्ति प्रभावित हुँदा लुटपाट हुन थालेको विवरण आएका छन् ।बीबीसी
