काठमाडौँ, १५ चैत : पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवास्पयुुक्त हावाको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको हो ।
मौसमविद् झाले भन्नुभयो, “अहिले काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । यो क्रम अझै केही दिन जारी रहनेछ ।”
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताउनुभयो ।
उहाँका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड) भएका छन् । अहिले पनि सिचुवना एयरलाइन्सको जहाज होल्डमा रहेको छ । “प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ । एक घण्टा अगाडि एक हजार छ सय मिटरमात्रै भिजिबिलिटी रहेकामा अहिले दुई हजार पाँच सय रहेको छ ।
“होल्डमा रहेका अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण हुन थालेका छन्”, प्रवक्ता झाले भन्नुभयो । आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छैन । तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन् ।
