रुस, ५ वैशाख । उपचारमा ध्यान नदिइए जेलमा रहेका रुसी विपक्षी अभियानकर्मी एलेक्सी नभाल्नीको केही दिनभित्र ज्यान जान सक्ने उहाँका चिकित्सकले बताएका छन् ।
चिकित्सकहरू अनुसार हालै गरिएका रगत परीक्षणका नतिजाले उहाँ हृदयाघात अथवा मिर्गौलाले काम गर्न नसक्ने अवस्थाको शिकार हुन सक्ने देखाएका छन् ।
ढाड तथा खुट्टासम्बन्धी समस्याको पूर्ण उपचारको माग गर्दै विगत १८ दिनदेखि नभाल्नी अनशनरत ह्नुहुन्छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले जेलमा रहेका नभाल्नीको अवस्थालाई पूर्णतः अन्यायपूर्ण र अनुपयुक्त भन्नुभएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक नभाल्नीलाई आर्थिक हिनामिनासम्बन्धी पुराना अभियोगहरूमा गत फेब्रअरी महिनामा जेल पठाइएको थियो ।
परीक्षण गराउन माग
तत्काल नभाल्नीलाई हेर्ने अनुमति माग्दै उहाँकी निजी चिकित्सक डा.अनास्तासिआ भसिलिएभासहित चारजना चिकित्सकले कारागार अधिकारीहरूलाई पत्र लेखेका छन् ।
डा.भसिलिएभाले सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरेको पत्रमा विज्ञहरूका अनुसार नभाल्नीको शरीरमा पोटासियमको मात्रा गम्भीर तहमा पुगेको उल्लेख गरिएको छ ।
त्यसको अर्थ कुनै पनि समय मिर्गौलाको काम र मृटुको धडकनमा गम्भीर समस्या हुनसक्ने बताइएको छ ।
रगतमा पोटासियमको तह प्रतिलिटर ६.० मिलिमोल्सभन्दा बढी भएपछि सम्बन्धित मान्छेलाई तत्काल उपचार गराउनुपर्ने हुन्छ ।
नभाल्नीका वकिलहरूमार्फत् उपलब्ध गराइएको रगत परीक्षणको नतिजाअनुसार उहाँको रगतमा पोटासियमको तह प्रतिलिटर ७.१ रहेको पत्रमा उल्लेख छ ।
रगत परीक्षणका नतिजा र हालसालै विष दिइएको घटनालाई ध्यानमा राख्दै तत्काल नभाल्नीको स्वास्थ्य परीक्षण गर्न दिन चिकित्सकहरूले कारागार अधिकारीहरूलाई आग्रह गरेका छन् ।
सन् २०२० को अगस्ट महिनामा स्नायु प्रणालीलाई असर गर्ने विष दिइएकोमा ४४ वर्षीय नभाल्नीको झण्डै ज्यान गएको थियो ।
राष्ट्रपति पुटिनले विष दिन लगाएको नभाल्नीले आरोप लगाउँदै आउनुभएको छ ।
तर रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले त्यो आरोप अस्वीकार गर्दै आएको छ ।
नभाल्नीकी श्रीमती युलिआलाई समाचारसंस्था एपीले उद्धृत गर्दै जनाए अनुसार अनशन शुरू गरेयता नभाल्नीको तौल नौ किलोले घटेर अहिले ७६ किलो पुगेको छ ।बीबीसी
