भारत, २ वैशाख । कुम्भमेलाका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा केही वरिष्ठ सन्तसहित एक हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ ।
दुई महिनासम्म चल्ने उक्त मेलाको एउटा मुहूर्तमा मङ्गलवार ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए । लाखौँ मानिसले बुधवार पनि पवित्र गङ्गा नदीमा स्नान गरेको अधिकारीहरूले बताएका छन् ।
भारतमा दैनिक कोरोनाभाइरस सङ्क्रमणको दर बढिरहेको भए पनि उक्त तीर्थस्थलमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका हुन् ।
महामारी फेरि उत्कर्षमा पुग्न लागेका बेला उक्त मेला आयोजना गर्न दिइएको भन्दै सरकारको आलोचना भएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार बुधवार दिउँसोसम्म नौ लाख श्रद्धालुले गङ्गास्नान गरिसकेका थिए ।
बुधवार यसपालिको सबैभन्दा राम्रो मुहूर्त भएको मानिएको थियो ।
हिन्दूहरू गङ्गा नदीलाई पवित्र मान्छन् र त्यसमा डुबुल्की मारेर स्नान गर्दा पाप नष्ट हुने र पुण्य प्राप्त हुने मान्यता राख्छन् ।
बुधवार मध्याह्नसम्म नौ लाख मानिसले गङ्गास्नान गरेको अधिकारीहरूले बताएका छन् ।
गङ्गाको तटमा ठूलो भिड जम्मा भएकाले सुरक्षा मापदण्ड पालन गराउन समस्या भएको प्रहरी अधिकारीहरूले बताएका छन् ।
उक्त मेलामा कोभिड१९ को परीक्षणको नेतृत्व गरेका अधिकारीहरूले बीबीसीलाई बताएअनुसार त्यस क्षेत्रबाट मङ्गलवार २०,००० हजार नमुना परीक्षण गरिएकोमा ११० जनामा सङ्क्रमण देखिएको थियो । सोमवार १८४ जना भक्तजनमा सङ्क्रमण देखिएको थियो ।
बीबीसी हिन्दीका अनुसार बिहीवार बिहानसम्म झन्डै १,३०० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ ।
कुम्भमेलाका स्वास्थ्य अधिकारी डा. अर्जुन सेङ्गरले नौ वरिष्ठ धार्मिक नेतामा पनि सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।
चौधवटा हिन्दू समूहहरूको सङ्घका अध्यक्ष नरेन्द्र गिरी पनि सङ्क्रमित हुनु भएको छ । उहाँ अखिल भारतीय आयुर्वेदिक संस्थान हरिद्वारमा भर्ना हुनुभएको छ ।
उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव पनि सङ्क्रमित हुनुभएको छ ।
उहाँले आइतवार मात्र हरिद्वार भ्रमण गर्नुभएको थियो र गिरीसहित वरिष्ठ सन्तहरूलाई भेट्नु भएको थियो ।
उक्त मेलामा भ्रमण नगरेका भए पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सङ्क्रमित हुनुभएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री तिरथसिंह रावतले आफूहरूले स्वास्थ्य मन्त्रालयको मापदण्ड पालन गरिरहेको र सङ्क्रमित निको हुने दर राम्रो रहेको बताउनुभयो ।
सरकारले पहिले परीक्षणबाट कोरोनाभाइरस सङ्क्रमण नभएको पुष्टि भएका व्यक्तिलाई मात्र उक्त मेलामा सहभागी हुन दिने बताएको थियो ।
त्यस्तै त्यहाँ भौतिक दूरी कायम गरिने दाबी गरिएको थियो ।
तर त्यहाँ ती मापदण्डहरू पालना नभएका खबरहरू आएका छन्।
