तनहुँ, ११ साउन । आन्तरिक राजस्व कार्यालय दमौलीले आयकर, मूल्य अभिवृद्वि कर र अन्तशुल्कतर्फको कर नबुझाएका व्यवसायी फर्मको बैंक खाता रोक्का गरेको छ । गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यवसायी फर्मको खाता रोक्का गरेको हो ।
कार्यालयले गत वैशाख ५ गते पहिलो पटक सूचना प्रकाशित गरी पन्ध्र दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरिसकेको कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो । व्यवसायीको आम्दानीको स्रोत खोजी गरी बक्यौता रकम दाखिला गराउने अभियानमा कार्यालय लागेको बताउनुभयो ।
उक्त कार्यबाट पनि बक्यौता रकम दाखिला गराउन नसके निजको चलअचल सम्पत्ति रोक्का गर्न सकिने प्रावधान रहेको जानकारी दिँदै राईले सोही अनुरुप बैंक दाता रोक्का गरिएको बताउनुभयो । उहाँका अनुसार तनहुँमा २८, लमजुङमा तेह्र र गोरखामा छ व्यवसायी फर्मको रकम बक्यौता रहेको छ । रासस
