गुवाहाटी, २ असार । भारतको आसाममा केही दिनदेखिको निरन्तर बर्षा र बाढीको कारण यहाँको अवस्था भयावह देखिएको छ । यसबाट आसाम राज्यका  छ जिल्लाका २१ हजार बासिन्दा प्रभावित भएका छन् ।

आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) ले बिहीबार यस्तो विवरण सार्वजनिक गरेको हो ।एएसडीएमएका अनुसार बाढीको कारण  यहाँको अवस्था अझै भयावह रहेको छ ।

एएसडीएमएले आसाम र अरूणाचल प्रदेशमा लगातारको वर्षाका कारण धेरै नदीहरूमा पानीको स्तर बढ्दै गएको र लखीमपुर, धेमाजी, डिब्रुगढ, कछार, नलबारी र कामरूप (मेट्रो) जिल्लाका १० प्रशासन केन्द्र अन्तर्गत २५ गाउँ र अन्य क्षेत्रमा बाढीको पानी पसेको जनाएको छ ।

एएसडीएमएको बाढी प्रतिवेदनअनुसार बाढीप्रभावित जिल्लामा २१५.५७ हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको छ । लखीमपुर जिल्लामा मात्रै एक हजार २१५ बालबालिकासहित २३ हजार ५१६ जना प्रभावित भएका छन् ।

एएसडीएमएका अनुसार बाढी प्रभावित लखीमपुर जिल्ला प्रशासनले तीन वटा राहत वितरण केन्द्र स्थापना गरेको छ र बाढी प्रभावितको उद्धारका लागि उद्धार टोली परिचालन गरिएको छ ।

बाढीका कारण कुखुरासहित छ हजार ३०७ पशुचौपाया समेत प्रभावित भएका छन् । हिजो बिहीबार आएको बाढीले ढेमाई, विश्वनाथ, गोलपाडा र लखीमपुर जिल्लाका चार वटा तटबन्ध र चारवटा सडकमा क्षति पु¥याएको थियो । एएसडीएमएका अनुसार विगत केही दिनयता परेको वर्षाका कारण कछार र कामरूप (मेट्रो) जिल्लामा पनि केही पहिरोका घटना भएका छन् ।रासस/सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर