दमौली, ७ जेठ । स्थानीय व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानको लागि सर्वराधारणको जग्गा अधिग्रहण गरेर मुआब्जा तोकिइसके पनि प्रभावितलहरूले आजसम्म मुआब्जा पाएका छैनन् ।
जग्गा अधिग्रहण र मुआब्जा निर्धाण कार्य तीन वर्ष अघि नै सकिएको हो । यसरी प्राणी उद्यानका लागि आवश्यक पर्ने जग्गा रोक्का हुँदा प्रभावितले बेचबिखन गर्न पाइरहेका छैनन् ।
यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बल्ल चासो देखाएको छ ।
बजेट अभावमा प्रभावितले मुआब्जा पाउन नसकेपछि आगामी वर्षको बजेटमा यसलाई समावेश गरेर लैजाने विषयमा छलफल गरिएको प्रधानमन्त्रीका स्वकीय उपसचिव ओमकुमारी पौडेलले जानकारी दिनुभयो ।
मुआब्जा वितरणका लागि आगामी वर्षको बजेटमा बजेट समावेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव नवराज ढुङ्गानाको संयोजनमा वन मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालसहितको बैठक बसेको जनाइएको छ ।
स्वकीय उपसचिव पौडेलले रासससँग भन्नुभयो, “प्रधानमन्त्रीज्यूले यो विषयमा पटक–पटक चासो राख्दै आउनुभएको छ । सोहीबमोजिम सरोकारवालाको बैठक राखेर यो विषयमा छलफल गरेका छौँ । यो विषयमा राष्ट्रपतिज्यूसँग पनि भेटघाट गरेर जानकारी गराउने तयारी छ ।”
रैथाने र गैररैथाने वन्यजन्तुको संरक्षण गर्ने, वन्यजन्तु संरक्षणमार्फत् आमोदप्रमोद प्रदान गर्ने, वन्यजन्तुको वैज्ञानिक अध्ययन, अनुसन्धान गर्ने उद्देश्यसहित स्थापना भएको प्राणी उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको थियो ।
प्राणी उद्यानले व्यास नगरपालिका–११, १२, भानु नगरपालिका–५ र ६ का भाग समेटेको छ ।
उद्यान संरक्षण अधिकृत भोजराज पन्थका अनुसार यस कार्यका लागि कुल रु ४६ करोड ५२ लाख एक हजार सात सय ३० बजेट आवश्यक पर्छ । प्राणी उद्यानभित्र परेका एक सय २६ जग्गाधनीको नौ सय ६१ रोपनी जग्गा अधिग्रहण गरिनेछ । यसका लागि रु ४३ करोड ८७ लाख नौ हजार चार सय ४३ मुआब्जा निर्धारण गरिएको छ ।
त्यस्तै उद्यानभित्र परेका घरटहराका लागि रु ५८ लाख सात हजार पाँच सय ७९ र छुट भएका १६ जग्गाधनीको जग्गा अधिग्रहणका लागि रु दुई करोड छ लाख ८४ हजार सात सय सात मुआब्जा निर्धारण गरिएको छ ।
उद्यानको सिमानामा तारबार लगाउने काम भने सम्पन्न भइसकेको छ । प्राणी उद्यानको विकासका लागि गुरुयोजना बनाइएको छ ।
सो उद्यान कुल चार सय २५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ । रासस
