जेनाेभा , ६ जेठ । विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीले यो सङ्क्रामक रोगसँग जुध्नका लागि ६४ करोड अमेरिकी डलर माग गरेको छ । संयुक्त राष्ट्रसंघका अनुसार यो महामारी रोक्नको लागि तीव्रता दिन जति लामो समय लाग्छ, स्थिति त्यति नै खराब हुँदै जाने छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले खोप अभियान नराम्ररी प्रभावित भएको जनाएको छ । “डब्लुएचओका अनुसार ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा छन्,” डब्लुएचओका कार्यक्रम व्यवस्थापक हेनरी ग्रेले भन्नुभयो ।
यस वर्ष अहिलेसम्म २४ देशमा हैजाको प्रकोप देखिएको छ भने गत वर्षको मे महिनामा १५ देशमा हैजाको प्रकोप देखिएको थियो । पछिल्लो समय हैजाबाट सामान्यतया प्रभावित नभएका देशहरू प्रभावित भइरहेका छन् र मृत्युदर १०० भन्दा धेरै बढी छ ।
गरिबी, द्वन्द्व, जलवायु परिवर्तन र त्यसले निम्त्याएको जनसङ्ख्या विस्थापनका कारण सङ्क्रमण बढेको ग्रेले बताउनुभयो । उहाँले भन्नुभयो, “हैजाबाट प्रभावित देशहरूको सङ्ख्या बढ्दै जाँदा, रोकथाम र प्रतिकार्यका लागि उपलब्ध स्रोतहरू अझ कम फैलिएका छन् ।
ओरल हैजाको भ्याक्सिन एउटा उदाहरण हो । यस वर्ष एक करोड ८० लाखभन्दा बढी डोज माग गरिएको छ तर ८० लाख मात्र उपलब्ध गराइएको छ र त्यसैले रोकथामका अभियानहरू रोकिएका छन् ।रासस/एएफपी
