काठमाण्डौं, २६ बैशाख । यसपटकको वसन्त याममा सर्वोच्च शिखर सगरमाथासहित अन्य हिमाल आरोहणको अनुमति दिएवापत् सरकारले हालसम्म रु रु ७४ करोड छ लाख राजस्व सङ्कलन गरेको छ ।

यो जानकारी पर्यटन विभागको पर्वतारोहण शाखाले दिएको हो ।

नेपामा वसन्त ऋतुमा हिमाल आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् ।

सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ । यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि यो याममा नेपालसहित ६५ देशका नागरिकले अनुमति पाएका छन् ।  सगरमाथाबाट मात्रै रु ६५ करोड पाँच लाख राजस्व जम्मा भएको छ ।

सगरमाथापछि सबैभन्दा धेरै ल्होत्से हिमालबाट रु दुई करोड ८३ लाख र मकालु हिमालबाट रु एक करोड ३६ लाख सङ्कलन भएको छ ।

पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले यस याममा सगरमाथा आरोहण इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएको र आरोहीको सङ्ख्या बढेसँगै राजस्व सङ्कलन पनि बढेको बताउनुभयो ।

नेपालमा आठ हजार मिटर उचाइभन्दा माथिका आठ हिमशृङखला छन् ।

पर्यटन विभागको विवरण अनसुार यही वैशाख २५ सम्म वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ आरोहीले अनुमति लिएका छन् । यस याममा सगरमाथा आरोहण अनुमति लिने आरोही लगभग आइसकेका र बुधबारसम्म केही अनुमति लिने प्रक्रियामा रहेका शाखा अधिकृत कोइरालाले जानकारी दिनुभयो ।

अनुमति लिएका आरोही अहिले सगरमाथाको आधारशिविर र दोस्रो शिविरमा आरोहणको प्रतिक्षामा छन् । सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले बाटो बनाइसकेका छन् ।

सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ ।

यही वैशाख १० गते नै सगरमाथाको चाँथो शिविरसम्म बाटो खुलाइए पनि प्रतिकूल मौसमका कारण बाटो कठिन भइरहेको छ । उनीहरु एकसाता बढीसमयदेखि आधार शिविरमा छन् ।

सगरमाथाको सात हजार पाँच सय मिटरमाथि क्षेत्रमा तीव्र वेगको हावा चलिरहेकाले आरोहणलाई निरन्तरता दिन नसकिएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको ‘इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनी’ले जनाएको छ ।

सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले बाटो बनाएको थियो । सगरमाथाको साउथ कोलसम्म यही वैशाख १० गते नै बाटो खुलिसकेको थियो ।

वसन्त ऋतुको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमालचुली आरोहणका एक सय २६ आरोही समूहका दुई सय ५४ महिला र आठ सय ६९ पुरुष गरी कूल एक हजार एक सय २३ आरोहीले अनुमति लिएको विभागले जनाएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर