भारत, २५ वैशाख । भारतको दक्षिणी राज्य केरलामा पर्यटकहरू चढेको एउटा दुईतले डुङ्गा पल्टिँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

आइतवार साँझ दुर्घटनाग्रस्त उक्त डुङ्गालाई हिलोयुक्त पानीबाट बाहिर निकालिएको छ।

दुर्घटनास्थलमा खोजी तथा उद्धारकार्य जारी रहँदा मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार धेरै यात्रुहरू डुङ्गामुनि फसेका थिए भने राति अँध्यारोका कारण उद्धारकार्य अवरुद्ध भएको थियो।

ज्यान गुमाउनेहरूमा महिला र बालबालिका पनि छन्।

भारतकी राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा मानिसहरूको मृत्यु भएकोमा शोक व्यक्त गर्नुभएको छ ।

केरलाका मुख्यमन्त्री विजय पिनारईले स्थानीय प्रशासनलाई तीव्र गतिमा उद्धारकार्य गर्न निर्देशन दिइएको र त्यसको निगरानी क्याबिनेट मन्त्रीहरूले गरिरहेको बताएका छन्।

मलप्पुरम जिल्लाको तनुर क्षेत्रमा अवस्थित तूवलतीरम समुद्री तटनजिकै एउटा नदीमुखमा आइतवार सो दुर्घटना भएको थियो।

डुङ्गामा ५० जना भएको बताइएको छ। पर्यटकहरू डुङ्गा चढेर समुद्रमा विहार गर्न जान्छन्। उक्त डुङ्गामा पनि पर्यटकहरू थिए।

मलप्पुरम जिल्लाका प्रहरी अधिकारी अब्दुल नजारले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार उक्त डुङ्गामा क्षमताभन्दा बढी मानिस थिए।

केरलाका खेलकुद तथा मत्स्यपालनसम्बन्धी मन्त्री भी अब्दुरहिमानका अनुसार अस्पताल लगिएका केही व्यक्तिको जनाको अवस्था गम्भीर छ।

दुर्घटनामा परेर पनि ज्यान जोगिएका मानिसहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार डुङ्गा पल्टिँदा धेरै यात्रुहरूले लाइफ ज्याकेट लगाएका थिएनन्। हराइरहेका यात्रुहरूको स्पष्ट सङ्ख्या तत्काल थाहा हुन सकेको छैन।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर