काठमाडौ, २१ वैशाख । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ज्यान लिने प्रयास गरेको भन्ने क्रेमलिनको आरोप अस्वीकार गर्नुभएको छ ।
“हामी पुटिन र मस्कोमाथि आक्रमण गर्दैनौँ। हामी आफ्नो भूभागका लागि लड्छौँ। हामी हाम्रा गाउँ र सहरहरूको रक्षा गरिरहेका छौँ,” फिनल्यान्ड भ्रमणमा रहेका जेलेन्स्कीले भनुभयो ।
यसअघि रुसी राष्ट्रपतिको कार्यालयले पुटिनको ज्यान लिने उद्देश्यले भएको ड्रोन आक्रमण निस्तेज पारिएको बताएको थियो।
रुसले आवश्यक ठानिए जुनसुकै समय र स्थानमा पनि प्रतिकार गर्न सक्ने चेतावनी दिएको छ।
अनलाइनमा फैलिएका अपुष्ट भिडिओहरूमा क्रेमलिन भनिने मस्कोस्थित एउटा ठूलो सरकारी भवनबाट बुधवार धुवाँ निस्कँदै गरेको देखिन्छ।
दोस्रो भिडिओमा संसद् भवनमाथि एउटा सानो विस्फोट देखिन्छ र दुई जना मानिसहरू भवनको गुम्बजमाथि देखा पर्छन्।
रुसी राष्ट्रपति कार्यालयले युक्रेनबाट क्रेमलिनस्थित पुटिनको निवासमाथि आक्रमणको प्रयास भएको भन्दै त्यसलाई योजनाबद्ध आतङ्कवादी हमला र राष्ट्रपतिको हत्या प्रयासको संज्ञा दिएको छ।
अधिकारीहरूले उक्त भवनलाई निशाना बनाइरहेका दुई वटा ड्रोनहरू इलेक्ट्रोनिक रडारको प्रयोग गरेर निष्क्रिय पारिएको बताएका छन्।
राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले पुटिन त्यस बेला क्रेमलिनमा नरहेको बताएका छन्।
तर युक्रेनले भने रुसी आरोप आफ्नो भूभागमा ठूलो आक्रमण अघि बढाउने रुसी बहाना मात्रै भएको बताएको छ। अमेरिकाले पनि रुसको दाबीलाई धेरै सावधानीपूर्वक हेरिरहेको बताएको छ।
रुसी राष्ट्रपति पुटिन विश्वमै सबैभन्दा धेरै सुरक्षा दिइने नेताहरूमध्येमा पर्छन्।
मस्कोमा बीबीसीले सहभागिता जनाएको पुटिन उपस्थित हुने कार्यक्रमहरूमा उच्च सुरक्षा पहरा देखिन्छ। कार्यक्रममा सहभागी हुन जानेहरूलाई कडा सुरक्षा जाँच गरिन्छ र उनको सवारीमा गाडीहरूको लस्कर हुनुका साथै त्यस क्षेत्रको हवाई क्षेत्र र यातायात समेत रोकिन्छ।
यदि क्रेमलिनले भनिरहेको साँचो हो भने राष्ट्रपतिको सुरक्षा प्रबन्धमै प्रश्न उठ्न सक्छ।
पुटिन व्यक्तिगत सुरक्षा उच्च तहको रहेको बताउँदै बीबीसीका रुस सम्पादक स्टीभ रोजनवर्ग ती ड्रोनहरू कसरी क्रेमलिननजिक पुगे भन्ने सोच्नु नै अचम्मलाग्दो रहेको बताउँछन्।
यो दाबी साँचो भए रुसको हवाई प्रतिरक्षाको प्रभावकारितामा समेत जाँचबुझ हुनसक्छ।
पछिल्लो समय मस्कोका प्रमुख भवनहरूका छतहरूमा हवाई प्रतिरक्षा प्रणालीहरू देखिएका थिए।
युक्रेन वा युक्रेनप्रति सहानुभूति जनाउनेहरूले उच्च महत्त्वका स्थानहरूमा हवाई आक्रमण गर्न सक्ने चिन्ता पछि यस्तो प्रतिरक्षा प्रणाली जडान भएको थियो।
बुधवार जे भएको भए पनि यसपछि रुसको प्रतिक्रिया के हुन्छ भन्ने चासो बढेको छ।
कतिपय अधिकारीहरूले कडा कदम चालिनुपर्ने बताएका छन्। रुसी भूभागमा हुने आक्रमण पछि त्यहाँका सैनिक जनरलहरूले कैयौँ पटक कडा प्रतिवादको चेतावनी दिएका छन्।
तर रुसले अर्थपूर्ण प्रतिवाद आक्रमण गर्न सक्ने क्षमता राख्छ वा राख्दैन वा यसले युक्रेनमा चलिरहेको युद्ध थप चर्काउने प्रस्ट छैन।
युक्रेनी राष्ट्रपतिका सल्लाहकारले उक्त घटनाले रुसले युक्रेनमा ठूलो स्तरको आक्रमणको तयारी गरिरहेको सङ्केत गरेको बीबीसीसँग बताएका छन्।
रुसको मे ९ मा मनाइने भिक्ट्री डे परेडको पूर्वसन्ध्यामा उक्त घटना घटाइएको कुरा आफूले हेक्का राखेको जनाएको छ।
उक्त दिनको समारोहमा कैयौँ विदेशी अतिथिहरू सहभागी हुने अपेक्षा गरिएको छ जुन योजना अनुसार नै अगाडि बढ्ने क्रेमलिनका अधिकारीहरूलाई उद्धृत गर्दै बताइएको छ।
बुधवार मस्कोका मेयरले सहरमाथि अनुमतिबिना ड्रोन उडाउन प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्।
युक्रेनी राष्ट्रपतिका एकजना सल्लाहकारले क्रेमलिनमा हमला गर्नु आफ्नो हितमा नरहेको टिप्पणी गरेका छन्।
ती सल्लाहकारले त्यस्ता कदमले रुसलाई युक्रेनी पूर्वाधार र सहरहरूमा थप तीव्र आक्रमण गर्नका लागि उक्साउने र मस्कोलाई उक्त कार्यको औचित्यसिद्ध गर्न सहज हुने तर्क गरे।वीवीसी
