चितवन, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालक घाइते अवस्थामा फेला पर्नुभएको छ । उहाँ आज बिहान भरतपुर महानगरपालिका वडा नं. ११ स्थित रवि लामिछाने बस्ने घरको छतबाट खसेर घाईते हुनु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ४ बजेको समयमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ३ घर भएका ३९ वर्षिय शम्भु भनिने दिलबहादुर थापा छतबाट खसेर घाईते हुनु भएको हो ।
दिलबहादुर थापा र महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम सँगै सुतेका थिए । भरतपुरस्थित उनीहरू सुतेको घरको छतबाट तल खसेर गम्भीर घाइते भएका छन् । अर्का चालकलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । अर्का चालक कालुराम राजवंशीलाई जिप्रकामा बोलाएर सोधपुछ भइरहेको चितवनका एसपी रामेश्वर कार्कीले बताउनु भयो ।
उहाँको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
