-रमेश लम्साल
काठमाडौँ, ३ वैशाख । गएको वर्ष २०७९ सालमा मुलुकको विद्युत् प्रणालीमा झण्डै पाँच सय मेगावाट बिजुली थप भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रणालीमा बिजुली थप हुने क्रम क्रमशः वृद्धि भएको छ ।यही अवस्था कायम रहे आगामी असार मसान्तसम्म मुलुकको कूल जडित क्षमता करिब तीन हजार मेगावाट बराबर पुग्नेछ ।
आन्तरिक खपतमा वृद्धि गर्दै ऊर्जा निर्यातमार्फत आर्थिक उपार्जन गर्न सरकारले प्रभावकारी पहल गरिरहेको छ । प्राधिकरणका अनुसार हालसम्म दुई हजार छ सय ८९ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिइसकेको छ । आगामी असारसम्म थप १५ आयोजना निर्माण सम्पन्न हुनेछ ।
त्यसमा प्राधिकरणका सहायक कम्पनीले निर्माण गरेका आयोजना समेत छन् । सो वर्षभरी नै कूल १९ वटा आयोजना पूर्ण रुपमा सञ्चालनमा आए । त्यस्तै, नौ वटा आयोजना परीक्षणको अन्तिम चरणमा पुगेका छन् । ती आयोजनाको बिजुली समेत प्रणालीमा जोडिसकेको छ ।
यो वर्ष प्रणालीमा जोडिएको जलविद्युत् परियोजनामध्ये निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो आयोजना हो सोलुखोला दूधकोशी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको आयोजना साहस ऊर्जाले निर्माण गरेको हो । सो आयोजनाले गत फागुन १७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो ।
प्रणालीमा जलविद्युत् आयोजनाका अलावा सौर्य परियोजनासमेत जोडिएका छन् ।
गतवर्ष चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीलगायतका आयोजना प्रणालीमा जोडिदा त्यसले मुलुकको ऊर्जा क्षेत्रमा नै रणनीतिक परिवर्तन गरिदिएको थियो ।
वर्षायाममा पूर्णरुपमा बिजुलीमा आत्मनिर्भर बनेको मुलुक क्रमशः हिउँदमा समेत सहज अवस्थामा पुग्न लागेको छ । निर्माणका क्रममा रहेका तीन हजार दुई सय ८० मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा छन् ।
ती सबै आयोजना निर्माण सम्पन्न हुँदा प्रणालीमा झण्डै सात हजार मेगावाट बराबर बिजुली पुग्नेछ ।
प्राधिकरणले आगामी वर्षायाममा झण्डै एक हजार दुई सय मेगावाट बराबरको बिजुली बिक्रीका लागि तयारी गरिरहेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अनुसार निजी क्षेत्रले प्रवद्र्धन गरेका केही आयोजना हाल परीक्षण उत्पादनको क्रममा छन् । ती आयोजनाले प्राधिकरणका कर्मचारीको उपस्थितिमा १५ दिन परीक्षण उत्पादन गरेपछि व्यावसायिक उत्पादन सुरु गर्नेछन् ।
वर्ष २०७९ मा प्राधिकरणले चार सय २५ मेगावाट बराबरको बिजुली भारत निर्यात गरेको थियो । प्राधिकरणले बिजुली निर्यातबाट मात्रै चालु आवमा रु आठ अर्ब ४४ करोड बराबरको आम्दानी गरेको छ । यसवर्ष बर्खामा बढी हुने एक हजार दुई सय मेगावाट बिजुली निर्यात गर्ने तयारी भइरहेको छ ।
मुलुकका केही ठूला आयोजना निर्माणका लागि भारतीय कम्पनीले चासो देखाएका छन् । कूल सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती र चार सय ५० मेगावाट क्षमताको सेती नदी– ६ आयोजनामा भारतीय कम्पनी एनएचपीसीले निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा क्षेत्रमा क्रमशः वैदेशिक लगानी आकर्षित भइरहेको छ ।
देशमा अहिले निर्माणधीन र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको कूल क्षमता चार हजार आठ सय ३४ मेगावाट बराबर छ भने झण्डै ९६ दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । रासस
