काठमाण्डौं,२६ चैत । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले  जन्म भएका बच्चाको थर जन्मदिने आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्नेगरी आज नयाँ परिपत्र जारी गरेको छ ।

विभागले यसअघि (चैत २२ गते ) त्यस्ता बच्चाको जन्मदर्ता मावलीको थरबाट गर्ने भनी वडा तथा पञ्जिकाधिकारीलाई परिपत्र गरेको थियो । त्यसको व्यापक आलोचना भएपछि विभागले त्यो सच्याएर आमाकै थरबाट पहिचान दिने निर्णय गरी यस्तो परिपत्र जारी गरेको हो ।

विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले यसअघि जारी भएका परिपत्रलाई थप स्पष्ट पार्नुपर्ने भएकाले आज केही बुँदाहरु थप गरेर नयाँ परिपत्र जारी गरेको राससलाई बताउनुभयो ।

उहाँका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (दोस्रो संशोधनसहित), २०७७ को नियम २८ को देहाय खण्ड (क) बमोजिम जन्मदर्ता सम्बन्धमा सहजता र एकरुपता कायम गर्ने गरी आज नयाँ परिपत्र जारी गरिएको हो ।

विभागद्वारा आज जारी आठबुँदे नयाँ परिपत्रमा एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने स्पष्ट उल्लेख छ ।

यस्तै, विवाह अघि बच्चाको जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मँदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगानामा जन्मदर्ता गरिदिन र यदि बच्चा मावलीमा बसेको भए सोही ठेगानामा जन्मदर्ता गरिदिन भनेको छ ।

विभागले बच्चाको जन्मदर्ता भइसकेपछि पितृत्व/बाबुको ठेगान पत्ता लागेको अवस्थामा माथि प्रकरण नम्बर (१) र (२) अनुसार भएको जन्म दर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट बाबु वा आमा वा दुबैको थर राखी नयाँ जन्मदर्ता गर्न भनेको छ ।

परिपत्रमा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको बच्चाको कुनै पनि परिवार नभएको प्रमाणित भएको बच्चा फेला परेमा हेरचाह गर्ने कानुनबमोजिमको संरक्षकले दिएको ठेगाना, नाम, थर राखी जन्मदर्ता गर्नुपर्ने उल्लेख छ ।

बाबु, आमाको कानुनबमोजिम सम्बन्धविच्छेद भई आमासँग रहने छोराछोरीको जन्मदर्ता गर्दा बाबुको स्थायी ठेगानामा दर्ता नभएको यकिन गरी आमाको हालको स्थायी ठेगानामा जन्मदर्ता गरिदिने तथा कानुनबमोजिम कारागारमा सजाय भोगिरहेका महिलाबाट जन्म भएको बच्चाको जन्मदर्ता गर्दा कारागार कार्यालय प्रमुखबाट सूचना फाराम प्रमाणित भई आएमा सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको वडा कार्यालयमा बच्चाको जन्मदर्ता गरिदिने भनिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर