काठमाण्डौं, १३ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदको निर्वाचनको लागि उम्मेदवारी दिनुभएको छ । यही फागुन २५ गते राष्ट्रपति पदको लागि निर्वाचन हुँदैछ ।

उहाँले आज दिउँसो उम्मेदवारी पत्र दर्ता गराउनुभएको हो ।

उहाँको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न पार्टीका शीर्ष नेताहरु नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुग्नुभएको थियो ।

उहाँको प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र जनमत पार्टीका नेता अब्दुल खान हुनुहुन्छ ।

यस्तै पौडेलको समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे हुनुहुन्छ ।

वरिष्ठ नेता पौडेल गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित हुनुभएको थियो ।

उहाँ २०४७ साल यता मुलुकको उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री तथा प्रतिनिधि सभाको सभामुखसमेत भइसक्नुभएको छ  ।

त्यस्तै नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले पनि सो पदको लागि आजै उम्मेदवारी दिनुभएको छ ।

उहाँको उम्मेदवारी दर्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुग्नुभएको थियो ।

उहाँको प्रस्तावकमा अध्यक्ष ओली नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोर्कणराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा हुनुहुन्छ ।

यसैगरी उहाँको समर्थकमा पार्टीका नेताहरू योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहनुभएको छ ।

नेम्वाङ नेकपा एमालेको उपाध्यक्ष हुनुहुन्छ । उहाँ २०७९ को प्रतिनिधि सभा निर्वाचनमा इलाम-२ बाट निर्वाचित हुनुभएको थियो । कानूनका ज्ञाता नेम्वाङ प्रतिनिधि सभाको सभामुख एवं मन्त्री भैसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर