काठमाडौ, ११ फागुन । क्यानडाको सेनाले हालै आर्क्टिक क्षेत्रमा चीनले जासुसी गर्ने प्रयास गरेको प्रमाण भेटिएको दाबी गरेको छ।

सुरुमा क्यानडाको पत्रिका द ग्लोब एन्ड मेलले त्यसबारे समाचार प्रकाशन गरेको थियो। त्यसले पृथ्वीको सुदूर उत्तरमा चिनियाँ गतिविधिमाथि प्रश्न उठाइदिएको छ।

केही दिनअघि अमेरिकी सेनाले लडाकु विमान प्रयोग गरी अमेरिका र क्यानडाको आकाशमा उडेको एउटा सन्दिग्ध चिनियाँ जासुसी बलुन खसालिदिएको थियो। अहिले क्यानडाको सेनाले चीनले आर्क्टिक क्षेत्रमा निगरानी गर्ने प्रयास गरेको बताएको हो।

क्यानडामा भएको निर्वाचनमा हस्तक्षेप गरेको आरोप पनि चीनलाई लागेको छ। यद्यपि चीनले त्यसको खण्डन गरिसकेको छ।
के भेट्यो क्यानडाले ?
क्यानडाको सेनाले जल, स्थल र आकाशबाट देशलाई हुनसक्ने खतरा पहिचान गर्न अपरेशन लिम्पड नामक अभियान सञ्चालन गरेको छ।

उक्त अभियानका क्रममा चीनले निगरानी गर्न परिचालन गरेका पानीमा तैरिने उपकरणहरू गत शरद्‌याममा समुद्रमा फेला परेको उसको दाबी छ।

क्यानडाको डिपार्टमन्ट अफ न्याश्नल डिफेन्सका प्रवक्ता डेनियल ल बुथिएले एउटा वक्तव्यमा भनेका छन्, चीनले क्यानडाको आकाश र समुद्री क्षेत्रमा निगरानी गर्न हालै गरेका प्रयासबारे सेनालाई पूर्ण जानकारी छ।

उनले चीनले दोहोरो उद्देश्य भएका प्रविधिको प्रयोग गरेर त्यसो गरेको दाबी गरेका छन्।

अर्थात् चीनले त्यसबाट प्राप्त विवरण अनुसन्धान र सैन्य निगरानी दुवैका लागि प्रयोग गर्न सक्छ।

आर्क्टिक क्षेत्रमा चीनको चासो कस्तो ?
डेनियल ल बुथिएले सेनाले सन् २०२२ देखि नै क्यानडाली भूभागमा निगरानी गर्ने त्यस्ता प्रयासलाई रोकेको बताए। तर उनले त्यसबारे विस्तृत विवरण दिएनन्।

चीनले आर्क्टिक क्षेत्रमा लामो समयदेखि चासो देखाउँदै आएको छ।

उसले विगत दुई दशकमा त्यस क्षेत्रमा ३३ पटक उच्चस्तरीय व्यक्तित्वहरू पठाएको छ। चीन धेरैवटा प्रमुख आर्क्टिक संस्थामा सहभागी हुँदै आएको छ।

उसले प्रायः पृथ्वीको उत्तरी क्षेत्रमा अनुसन्धानका लागि टोलीहरू पठाउने गरेको छ।

जलवायु परिवर्तनका कारण बरफ पग्लिने क्रम बढेको अवस्थामा चीनले यस क्षेत्रबाट युरोपसम्म जानका लागि छोटो व्यापारिक मार्ग खोल्ने आशा राखेको छ।

त्यसका साथसाथै त्यहाँ उपलब्ध विभिन्न प्राकृतिक स्रोतमा पनि उसको चासो छ।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर