अमेरिका, २८ माघ । निकै उचाइमा देखा परेको एक अपरिचित वस्तुलाई उत्तर ध्रुवीय महासागरमाथि अमेरिकी लडाकु विमान एफ २२ ले क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको छ।
उक्त वस्तु कहाँबाट आएको थियो भन्ने थाहा हुन सकेको छैन।
वासिङ्टनले चिनियाँ जासुसी बलुन भन्दै त्यसलाई उसको सेनाले अमेरिकी जल क्षेत्रमा खसालेको झण्डै एक सातापछि यस घटना बाहिर आएको हो।
एउटा सानो आकारको कारजत्रो उक्त वस्तुका भग्नावशेष सङ्कलनको काम भइरहेको अमेरिकी सेनाले जनाएको छ।
पेन्टागनका एकजना प्रवक्ताले त्यो विमान नरहेको जनाएका छन्।
क्यानडाकी रक्षा मन्त्री अनिता आनन्दले आफ्नो देशले उक्त वस्तुको अवस्थिति थाहा पाउन एक विमान पठाएर सहयोग गरेको बताउनुभएको छ ।
उक्त वस्तुलाई खसाल्नका लागि शुक्रवार राष्ट्रपति जो बाइडनले आदेश दिएको ह्वाइटहाउसले जनाएको छ।
ह्वाइटहासका प्रवक्ता जोन किर्बीले मानवरहित उक्त वस्तु एउटा सानो कारजत्रो भएको र त्यो नागरिक उड्डयनमा उचित खतरा उत्पन्न गर्ने देखिएको बताउनुभएको छ ।
उक्त वस्तु कुन प्रयोजनसाथ थियो भन्ने समेत थाहा नभएको किर्बीले बताउनुभएको छ ।
किर्बीले उक्त वस्तु अलास्काको उत्तरी तटमाथि ४० हजार फिट (झण्डै १२,००० मिटर) को उचाइमा उडिरहेको थियो।
त्यसअघि सो वस्तु अलास्कामाथि २० देखि ४० माइल प्रतिघण्टाको गतिमा उडिसकेको थियो र त्यसमा गोली प्रहार गरेर खसाल्दा त्यो साउथ क्यारोलाइनाको तटबाहिर थियो।
व्यावसायिक उडानहरू ४५ हजार फिट सम्मको उचाइमा उड्ने गर्छन्।
त्यसको भग्नावशेष सङ्कलनका लागि बफर्ट सागरमा हेलिकप्टर र विमानहरू परिचालन गरिएका छन्।
यो कसको स्वामित्वमा छ, राज्य वा कम्पनीको वा कसैको निजी भन्ने हामीलाई थाहा छैन, किर्बीले भन्नुभयो ।
उक्त वस्तु सबैभन्दा पहिले बिहीवार राती देखिएको थियो।
ह्वाइटहाउस प्रवक्ता किर्बीले दुई लडाकू विमानहरू उक्त वस्तु नजिकै पुगेर त्यसमा कोही मानिसहरू नभएको सुनिश्चित गरेको जनाउनुभएकोछ ।
जसलगत्तै बाइडनले त्यसलाई खसाल्ने आदेश दिनुभएको थियो ।बीबीसी
