कैलाली, २७ माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले स्थिर सरकार निर्माणका लागि सबैसँग छलफल गर्ने बताउनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गरे लगत्तै उहाँले नयाँ गठित सरकारलाई निरन्तरता दिन र स्थिर सरकार निर्माण गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने बताउनुभएको हो । मुख्यमन्त्री शाहले एक महिनाभित्रमा विश्वासको मत लिनेमा ढुक्क रहेको विश्वास व्यक्त गर्नुभयो । लामो राजनीतिक यात्रापछि आज जनताले विश्वास गरेर मुलुकको व्यवस्थाअनुसार आफू एउटा पदीय जिम्मेवारी र दायित्वमा पुगेको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री शाहले भन्नुभयो, “मलाई जिम्मेवारी पनि महशुस भएको छ र चुनौती पनि छन, ती चुनौतीसँग जुध्दै यो प्रदेशका लागि केही न केही योजना भोलिका दिनमा बनाउनेछु, जुन प्रत्यक्षरुपमा जनताले अनुभुति गर्न सकुन” । विस्वासको मत कहिले लिनुहुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले छिटोभन्दा छिटो लिने र त्यसपछि मन्त्रिपरिषद् विस्तार हुने बताउँनुभयो ।
मन्त्रिपरिष्द गठन
सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ बमोजिम नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिशमा आज मन्त्रिपरिष्दको गठन तथा कार्यविभाजन गर्नु भएको छ । कार्यविभाजन अनुसार कमलबहादुर शाह मुख्यमन्त्री, आन्तरिक मामिला, उद्योग पर्यटन वन तथा वातावरण, भूमिव्यवस्था, कृषि तथा सहकारी र सामाजिक विकास मन्त्री, प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास तथा नरेशकुमार शाही आर्थिक मामिला मन्त्री तोकिनुभएको छ ।
यसैबीच मुख्यमन्त्री शाहले आजै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ ।पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहले भ्रष्टाचार नियन्त्रणका लागि प्रादेशिक कार्ययोजना समिति गठन भएको र समितिले ३० दिनभित्र दिने प्रतिवेदनका आधारमा भ्रष्टाचार नियन्त्रणको योजना अघि बढ्ने पहिलो निर्णय गरिएको जानकारी दिनुभयो ।
पत्रकारको जिज्ञासामा मुख्यमन्त्री शाहले जनताले महशुस हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अर्को प्रसङ्गमा उहाँले आफ्नो नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत पाउनेमा ढुक्क भएको बताउनुभयो । भौतिक पूर्वाधार विकास मन्त्री र आर्थिक मामिला मन्त्रीले पनि आजै मन्त्रालय पुगेर आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।
प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाहलाई प्रदेशको मुख्यमन्त्रीमा बिहीवार नियुक्त गर्नुभएको थियो । त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का सभामुख वाहेक १०, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । —
—
