धनगढी , २५ माघ  ।   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले  विश्वासको मत लिने गरी दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ  ।

प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले बिहीबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।

प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले आज विश्वासको मत लिन लाग्नुभएको हो । त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ ।

सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने नदिनेबारे हालसम्म टुङ्गो लागेको छैन । रावलको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले आजसम्म पूर्णता पाउन सकेको छैन । बिनाविभागीय मन्त्री खगराज भट्ट र सन्तोषी थापा शर्माको मन्त्रालय पनि तोकिएको छैन ।

नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आजसम्म सरकारलाई विश्वासको मत दिने आधार तयार नभएको बताउनुभयो । सो पार्टीले टीकापुर घटनाका बन्दी रिहाइको माग गर्दै आएको छ । उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यहरू पार्टीका संस्थापक रेशम चौधरीसँग छलफल गर्न मंगलबार काठमाडौं गएका थिए तर उनीहरू अहिलेसम्म धनगढी फर्किएका छैनन्।

प्रदेशसभामा सत्तापक्षीय नेकपा (एमाले)का दश, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक दश, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सदस्य हुनुहुन्छ । विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर