अमेरिका, २९ पुस । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा गोप्य सरकारी दस्ताबेजहरू फेला परेपछि महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डले त्यसबारे छानबिन गर्न एक विशेष अनुसन्धानकर्ता नियुक्त गर्नुभएको छ ।
पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा न्याय मन्त्रालयमा काम गरेका रोबर्ट हुरको नेतृत्वमा अनुसन्धान अनुसन्धान हुनेछ।
बाइडनको निवास र यसअघि उपराष्ट्रपतिको कार्यकाल सकिएपछि उहाँले प्रयोग गरेको कार्यालयमा वर्गीकृत दस्ताबेजहरू भेटिएका थिए।
राष्ट्रपति कार्यालयले बाइडनने अनुसन्धानलाई पूर्ण सहयोग गर्ने जनाएको छ।
गोप्य दस्ताबेज राम्ररी नसम्हालेको आरोपमा पूर्वराष्ट्रपति ट्रम्पमाथि छानबिन चलिरहेका बेला बाइडनको निवास र कार्यालयमा संवेदनशील कागतपत्रहरू फेला परेपछि उहाँ राजनीतिक रूपमा अप्ठ्यारोमा पर्ने ठानिएको छ।
यस्ता दस्ताबेजहरू सबैभन्दा पहिले नोभेम्बर २ मा बाइडनले स्थापना गरेको थिङ्क ट्याङ्क कार्यालय ‘पेन बाइडन सेन्टर’मा फेला परेका थिए।
बाइडनले राष्ट्रिय अभिलेखालयलाई ती दस्ताबेज हस्तान्तरण गरिएको बताउनुभएको छ ।
दोस्रो चरणमा यस्ता फाइलहरू डेलावेअरको विल्मिङ्टनस्थित बाइडनको निवासमा डिसेम्बर २० मा भेटिएका थिए। बिहीवार पनि उहाँको निवासमा थप कागजपत्र फेला परेको जानकारी अनुसन्धानकर्ताहरूलाई उहाँका वकिलहरूले दिएका थिए।
“असाधारण परिस्थिति” लाई ध्यानमा राख्दै छानबिन गर्न विशेष अनुसन्धानकर्ता आवश्यक भएको गार्ल्यान्डले बताउनुभयो ।
“यो नियुक्तिले संवेदनशील विषयमा मन्त्रालयको स्वतन्त्रता र उत्तरदायित्वको प्रतिबद्धता अनि तथ्य र कानुनका आधारमा निर्विवाद निर्णय हुने कुरामा जोड दिन्छ,” उहाँले भन्नुभयो ।
हुरले “स्वच्छ, निष्पक्ष र पूर्वाग्रहरहित” छानबिन गर्ने बताउनुभएको छ ।बीबीसी
