काठमाडौ, २७ असोज । नेटो नेतृत्वको गठबन्धनले किएभलाई परिष्कृत हवाई प्रतिरक्षा अस्त्रहरू उपलब्ध गराउने घोषणा गरेको छ।
पछिल्ला क्षेप्यास्त्र हमलापछि यूके, क्यानडा, फ्रान्स र द नेदरल्याण्ड्सले क्षेप्यास्त्र र रेडारहरू सहितका त्यस्ता अस्त्रहरू युक्रेनलाई दिने बाचा गरेका हुन्।
अमेरिकाले यसअघि नै त्यस्तो बाचा गरेको थियो।
जर्मनीले दिएको एउटा उच्च प्रविधिको प्रणाली यसअघिदेखि नै युक्रेनमा छ।
ब्रसल्सस्थित पश्चिमा सैन्य गठबन्धन नेटोको मुख्यालयमा युक्रेनलाई सघाउने ५० देशका नेताहरू जुटिरहँदा त्यस्ता बाचाहरू गरिएका हुन्।
किएभले उक्त सम्मेलनलाई ऐतिहासिक बताएको छ।
किएभका अनुसार गत सोमवार र मङ्गलवार रुसले युक्रेनी ऊर्जा पूर्वाधार र अन्य गैरसैनिक निशानामा १०० भन्दा धेरै क्षेप्यास्त्र र कैयौँ ड्रोनहरूमार्फत् हमला गरेको थियो।
हमलाको पहिलो दिनमा कम्तीमा १९ जना मानिसहरू मारिएका थिए।
त्यससँगै कैयौँ युक्रेनी सहरहरूमा व्यापक रूपमा विद्युत् अवरुद्ध हुनुका साथै पानीको आपूर्ति काटिएको छ।
रुसी राष्ट्रपति पुटिनले ती हमलाहरू रुसलाई अधीनस्थ क्राइमियासँग जोड्ने एउटा मुख्य पुलमा भएको प्रहारको जबाफ भएको बताएका छन्।
क्राइमियालाई मस्कोले सन् २०१४ मा आफूमा गाभेको थियो।
रुसले शनिवार उक्त पुलमा भएका विस्फोटन युक्रेनको गुप्तचर निकायले गराएको बताउँछ जुन दाबीलाई किएभले खारेज गरेको छ।
यूकेले हवाई प्रतिरक्षा सम्बन्धी क्षेप्यास्त्र प्रणालीहरू र सूचना सङ्कलन र बन्दोबस्त क्षमताका निम्ति सयौँ हवाई ड्रोनहरू युक्रेनलाई दिनेछ।
उसले लामो दूरी प्रहार गर्ने १८ वटा हाविज्जर आर्टिलरी गन समेत दिनेछ। लण्डनले त्यस्ता ६४ वटा अस्त्र यसअघि नै दिएको छ।
यूकेका रक्षामन्त्री बेन वालेस भन्छन्, यी अस्त्रहरूले युक्रेनलाई हमलाहरूबाट आफ्नो आकाशको रक्षा गर्न र आफ्नो समग्र क्षेप्यास्त्र प्रतिरक्षा बलियो पार्न सघाउनेछ।
बुधवार ब्रसल्समा बोल्दै अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले उनीहरू युक्रेनीेलाई प्रभावकारी बनाउन चाहिने कुरा सुनिश्चित गर्न हामीले सक्ने सबै कुरा गर्ने बताउनुभयो ।
फ्रेन्च राष्ट्रपति एमानुएल माँक्रोले युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने बताउनुभयो ।
तर फ्रान्स टू टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा उहाँले त्यो कुन प्रणाली हो भन्ने चाहिँ प्रस्ट पार्नुभएन ।
उहाँले त्यसको मुख्य काम भनेको मानिसहरूलाई ड्रोनबाट सुरक्षित राख्नु हुने बताउनुभयो ।
द नेदरल्यान्ड्सले डेढ करोड युरो पर्ने हवाई रक्षा सम्बन्धी क्षेप्यास्त्र प्रणाली दिने जनाएको छ।
क्यानडाले ४ करोड ७० लाख क्यानडेली डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने बाचा गरेको छ जसमा भूउपग्रह सञ्चार र ड्रोन क्यामेराहरू समेटिएका छन्।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले महिनौँदेखि आफ्ना साझेदारहरूलाई युक्रेनको हवाई सुरक्षा कवच सिर्जना गर्न हवाई प्रतिरक्षा प्रणालीहरू उपलब्ध गराउन आग्रह गर्दै आउनुभएको थियो ।
बुधवारको भिडिओ सन्देशमा उहाँले रुसी आतङ्क जति बढी ढिट र निर्मम बन्दै जान्छ त्यति नै बढी विश्वले युक्रेनलाई आफ्नो आकाश सुरक्षाका लागि सहयोग गर्दै जानेछ जुन हाम्रो समयमा युरोपका लागि सबैभन्दा महत्त्वपूर्ण मानवीय कार्य हो वताउनुभयो ।
रुसले बारम्बार युक्रेनका साझेदारहरूलाई त्यस्ता परिष्कृत अस्त्र प्रणाली उपलब्ध गराउने कदमविरूद्ध चेतावनी दिँदै आएको छ।
त्यसो गर्दा उनीहरू २४ फ्रेब्रुअरीमा सुरु भएको युक्रेन युद्धमा सहभागी भएको ठहर्ने मस्कोको जोड छ। बीबीसी
