भारत, २६ असोज । दक्षिणी भारतीय राज्य केरलाको पथानामथिट्टा जिल्लामा आर्थिक समृद्धिको निम्ति दुईजना महिलाको बलि दिएको घटना सार्वजनिक भएको छ।
अङ्ग्रेजी अखबार द हिन्दूमा प्रकाशित समाचार अनुसार केरलाको दुईवटा जिल्लाका प्रहरीले त्यहाँ केही समयदेखि हराइरहेका दुईजना महिला पद्म र रोसलीको खोजकार्य गरिरहेका थिए।
यसै सिलसिलामा कोच्ची नगरको प्रहरीले एक दम्पति भगवल सिंह र लैला अनि अर्का एक व्यक्ति शफी वा रशीदलाई हिरासतमा लिएको बीबीसी हिन्दीमा छापिएको अखबारमा उल्लेख गरिएको छ।
उनीहरूसँगको सोधपूछमा अचम्भित् पार्ने जानकारी मिलेको छ।
कोच्ची नगर प्रहरीको प्रहरी अधिक्षक सीएच नागाराजुले पद्मको हत्या सेप्टेम्बरको अन्तिम सातामा भएको थियो। जबकी अर्की महिलाको हत्या जुन महिनामै गरिएको थियो भन्नुभएको छ ।
यी तीनजना व्यक्तिले दुवै महिलाको बर्बरतापूर्ण ढङ्गले हत्या गरेर लाशलाई आफ्नै घरमा गाडिदिएका थिए।
ती अभियुक्तहरूले आफ्नो अपराध कबुलेको र प्रहरीले तिनको पुष्टि पनि गरिसकेको नागाराजुले बताउनुभयो ।
अहिलेसम्म प्राप्त जानकारीअनुसार शफी र भगवल सिंहलाई आर्थिक अभाव भइरहेको थियो।
आर्थिक सङ्कटसँग जुझ्नका निम्ति भगवल सिंहलाई मानव बलि दिन सल्लाह दिइयो। त्यस सुझाव कार्यान्वयन गर्न शफीले घच्घच्याए।
लगत्तै केही रकमको बदलामा शफीले ती महिलालाई लिएर आए।
ती महिलालाई नोकरी तथा पैसाको प्रलोभन दिइएको थियो।
प्रहरीले अभियुक्तहरूको घरमा गाडिएका लाशको डीएनए जाँच गरेर पीडितहरूको पहिचान पुष्टि गर्दैछ।
भारतका विभिन्न ठाउँमा अन्धविश्वासका कारण थुप्रै अपराधका घटना हुने गर्छन्।
यस्ता अपराधमा महिला र बालबालिका पीडित हुने सङ्ख्या पनि निकै हुने गर्छ।बीबीसी
