काठमाडौ, २६ असोज । धनी देशहरूको समूह जी सेभेनका नेताहरूले आवश्यक पर्दासम्म युक्रेनलाई साथ दिने बताएका छन्।
सोमवार युक्रेनी सहरहरूमा रुसले गरेका मुख्य हमलापछि उक्त समूहले एउटा आपत्कालिन भर्चुअल बैठक गरेको थियो।
क्यानडा, फ्रान्स, इटली, जर्मनी, जापान, यूके र अमेरिका सदस्य रहेको सो समूहले सैन्य र मानवीय सहायता गर्ने काम जारी राख्ने समेत जनाएको छ।
रुससमेत उक्त समूहको सदस्य रहेकोमा सन् २०१४ क्राइमिया आफ्नोमा गाभेसँगै उसलाई समूहबाट हटाइएको थियो।
राजधानी किएभको मध्यमागसहित युक्रेनका कैयौँ क्षेत्रमा रुसी क्षेप्यास्त्रहरू प्रहार हुँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै २० जनभन्दा धेरै घाइते भएका थिए।
हमलाहरू मङ्गलवारसमेत जारी रहेका थिए र सर्वसाधारणहरूलाई हवाई प्रतिरक्षा हुने आश्रय स्थलहरूमा बस्न सुझाइएको छ।
तनाव बढाउने ती रुसी कदमको पश्चिमा नेताहरू तत्काल निन्दा गरेका थिए।
जी सेभेनले मङ्गलवार एउटा विज्ञप्तिमा भनेको छ, हामीले आर्थिक, मानवीय, सैन्य, कूटनीतिक र कानुनी सहायता दिने काम जारी राख्नेछौँ र आवश्यक पर्दाको समयसम्म दृढ रूपमा युक्रेनसँग रहनेछौँ।
उक्त समूहले रुसले एकलौटी ढङ्गले गरेका जनमतसङ्ग्रहहरूमार्फत् युक्रेनका चार वटा क्षेत्र आफ्नोमा गाभ्न गरेको प्रयासको समेत निन्दा गरेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जी सेभेनलाई थप हवाई प्रतिरक्षा क्षमताका लागि आग्रह गर्नुभएको छ । बीबीसी
