रुस, ११ असोज । जनस्तरमा असन्तुष्टि र विरोध बढेपछि रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले युक्रेनमा लड्न जगेडा सैनिक परिचालन गर्ने अभियानमा कमजोरीहरू भएको स्वीकार गरेको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले भन्नुभएको छ, आदेश उल्लङ्घन भएका केही घटनाहरू छन्। सबै त्रुटिहरू सच्याइनेछ।
कैयौँ विवरणमा सैन्य अनुभव नभएका व्यक्ति वा धेरै वृद्ध तथा अशक्त व्यक्तिहरूलाई पनि सैन्य सेवाका लागि बोलाइएको उल्लेख गरिएको छ।
गत साता जारी भएको जगेडा सैनिक परिचालनको आदेशप्रति रुसमा व्यापक विरोध सुरु भइसकेको छ।
भर्तीका लागि बोलाइएका मानिसको सङ्ख्या
राष्ट्रपति पुटिनले सेप्टेम्बर २१ मा आंशिक सैन्य परिचालनको घोषणा गर्नुभएकोथियो ।
पछि रक्षामन्त्री सेर्गेई शोइगुले जगेडामा राखिएका तीन लाख सैनिकलाई बोलाइने बताउनुभएको थियो ।
यद्यपि विपक्षी रुसी सञ्चारमाध्यममा आएका विवरणहरूका अनुसार १० लाख मानिसलाई बोलाउन सकिन्छ।
उनीहरूले त्यसलाई पुष्टि गर्ने आधारका रूपमा पुटिनको वास्तविक आदेशमा भएको सङ्ख्या उल्लिखित एउटा अनुच्छेद हटाएर (वर्गीकृत गरेर) क्रेम्लिनको आधिकारिक वेबसाइटमा राखिएको दाबी गरेका छन्।
मस्कोले युक्रेनमाथि आक्रमण सुरु गरेको सात महिनापछि पुटिनले जगेडा सैनिकलाई परिचालन गर्ने आदेश दिनुलाई पश्चिम र युक्रेनका कैयौँ सैन्य विशेषज्ञहरूले रुसी सेना युक्रेनको युद्धभूमिमा नराम्ररी असफल भइरहेको देखाउने बताउँछन्।
जगेडा सैनिक परिचालनको आदेश जारी भएयता त्यसको विरोधमा भएका प्रदर्शनमा सहभागी भएको आरोपमा २,००० जनाभन्दा बढी व्यक्ति पक्राउ परेका छन्।
सोमवार एउटा सम्मेलनमा पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले कमजोरीहरू भएको स्वीकार गर्नुभयो ।
उहाँले केही क्षेत्रमा गभर्नरहरूले सक्रिय रूपमा स्थिति सुधार गर्न काम गरिरहेको बताउनुभयो ।
उहाँले रुसी सीमा बन्द गर्ने र देशमा सैन्य कानुन लागु गर्ने विषयमा कुनै निर्णय गरिएकोबारे आफूलाई जानकारी नभएको बताउनुभयो ।
तर सञ्चारमाध्यमहरूले मानिसहरूलाई देश छोडेर भाग्नबाट रोक्न त्यस्तो गर्न सकिने जनाएका छन्।
सैन्य परिचालनको निर्णयसँगै कैयौँ रुसी युवाहरूले देश छाड्न खोजिरहेका छन्।

भूउपग्रहबाट लिइएका तस्बिरहरूमा जोर्जासँगको सीमामा रुसी कारहरूको लामो लर्को देखिन्छ।
सैन्य परिचालको विरोध बढिरहेका बेला एक व्यक्तिले साइबेरियाको एउटा सहरमा सैन्य भर्ती अधिकारीलाई आक्रमण गरेर गम्भीर घाइते बनाइदिएका छन्।
सामाजिक सञ्जालमा प्रेषित भिडिओमा आक्रमणकारी ती अधिकारीनजिक गएको र गोली हानेको देखिन्छ।
बन्दुकधारीले भाग्न आदेश दिँदै चिच्याएपछि भवनमा रहेका मानिसहरू डरले कराउँदै भागिरहेको देख्न सकिन्छ।
रुसभरि विभिन्न भर्ती केन्द्रमा आक्रमण भएका खबरहरू आएका छन्।
गत साता आफ्नो घोषणामा पुटिनले कति जगेडा सैनिकलाई सैन्य सेवामा बोलाइनेछ भनेर स्पष्ट पार्नुभएको थिएन ।
तर राष्ट्रपतिपछि बोल्दै रक्षामन्त्री शोइगुले तीन लाख जगेडा सैनिकहरूलाई भर्ती गरिने बताउनुभएको थियो । उहाँले त्यो रुसको कुल जगेडा सैन्य क्षमताको एक प्रतिशतजति मात्र भएको बताउनुभयो ।
रुसी रक्षामन्त्रीका भनाइमा यस्तो भर्ती कैयौँ महिनासम्म चल्नेछ।
सैन्य परिचालन आदेश अनुसार त्यस्तो भर्तीमा निश्चित उमेर र अशक्त अवस्थाको सीमा लागु हुनेछ। तर त्यसबारे थप विवरण दिइएको छैन।
तर के विश्वास गरिएको छ भने १८ देखि ६० वर्ष उमेरका पुरुष र केही अवस्थामा तीभन्दा बढी उमेरका मानिस पनि परिचालन गर्न सकिन्छ।
केही रुसी टिप्पणीकारले राष्ट्रपति र रक्षामन्त्रीको भनाइमा गम्भीर शङ्का व्यक्त गर्दै त्यस्तो सैन्य सेवाका लागि गरिएको आह्वान सीमित हुन्छ भन्नेमा विश्वस्त हुन नसकेको बताएका छन्।
आदेशले विद्यार्थीलाई भर्ती नगर्ने जस्ता अपवादबारे केही नबोलेको उनीहरूले औँल्याएका छन्।
उनीहरूले भर्तीको कोटा पूरा गर्न कसलाई बोलाउने भन्ने निर्णय गर्न क्षेत्रीय प्रमुखहरूमा जिम्मा लगाउन सुझाव दिएका छन्।
यद्यपि सेप्टेम्बर २४ मा पुटिनले विशेषगरी विद्यार्थीलाई भर्तीमा समाविष्ट नगर्ने भन्ने आदेश जारी गरेका छन्।
गत फेब्रुअरी २४ मा आक्रमण सुरु गर्नुअघि रुसले युक्रेनी सीमामा झन्डै एक लाख ९० हजार सैनिक परिचालन गरेको थियो।बीबीसी
