काठमाण्डौं, २ असोज । काठमाण्डौं विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक डा. अच्युत वाग्ले नियुक्त हुनुभएको छ ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक भोला थापाको सिफरिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँलाई आज आइतबार नियुक्त गर्नुभएको हो ।
रजिष्ट्रारको रुपमा डा. वाग्लेको कार्यावधि चार वर्षको हुनेछ ।
यसअघि केयुको रजिष्ट्रारमा प्राध्यापक सुवोध शर्मा हुनुहुन्थ्यो । शर्माको कार्यकाल यही भदौ मसान्तमा सकिएको थियो।
नवनियुक्त रजिष्ट्रार वाग्ले सोही विश्वविद्यालय स्कुल आफ म्यानेजमेण्ट (कुसोम)मा एसोसियट डिन हुनुहुन्थ्यो।
वाग्लेले त्रिभुवन विश्वविद्यालय र बेलायतको बर्मिङ्घम विश्वविद्यलायबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले भारतको इण्डियन इन्ष्टिच्युट आफ टेक्नोलोजी कानपुरबाट अर्थशास्त्रमा पिएचडी गर्नुभएको छ ।
लामो समय पत्रकारितामा सक्रिय वाग्ले काठमाण्डौंबाट प्रकाशित अंग्रेजी साप्ताहिक दि इण्डिपेण्डेन्टको सम्पादक हुनुभएको थियो । उहाँ कान्तिपुर दैनिकको स्तम्भकार हुनुहुन्छ ।
