काठमाडौँ, ५ भदौ । राष्ट्र«पति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै “गिरीको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ”, भन्नुभएको छ । राष्ट्रपति भण्डारीले शोकाकूल परिवारमा गहिरो समवेदना पनि प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्रीदेउवाद्वारा गिरीको निधनप्रति दुःख व्यक्त
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै भन्नुभएको छ, “नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु ।”
उहाँले नेता गिरीको निधनले नेपालको एक सच्चा र असल नेता गुमाएको बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले दिवंगत नेता गिरीको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो ।
अध्यक्ष दाहालद्वारा गिरीप्रति श्रद्धाञ्जलि व्यक्त
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ ।
अध्यक्ष दाहालले आज एक शोक सन्देश जारी गर्दै नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं कांग्रेसका नेता गिरीको निधनले स्तब्ध बनाएको बताउनुभएको हो ।
उहाँले गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा ‘एक गहिरो अभाव’को अनुभूति गर्दै स्व गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
शनिबारमात्रै अध्यक्ष दाहालले उहाँ उपचाररत अस्पताल पुगेर पछिल्लो अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । नेता गिरीको शनिबार राति निधन भएको हो ।
–––
