रुकुम पश्चिम, ६ जेठ । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ ।
मुसीकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका महेन्द्र केसी ६ हजार ९१४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का वसन्तकुमार शर्माले ६ हजार ९०१ मत प्राप्त गर्नुभयो ।
यस्तै, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का विमलकुमार पुनमगर ६ हजार १४० मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का थलबहादुर ओलीले पाँच हजार ९८५ मत ल्याउनुभयो ।
मुसिकोटामा एमाले र कांग्रेसको तथा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन भएको थियो । चौध वडामध्ये आठमा माओवादी केन्द्र र ६ वडामा कांग्रेस विजयी भएको छ ।
यस्तै, बाँफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जनककुमार वाठा निर्वाचित हुनुभएको छ । वाठा ४ हजार ४ सय ५५ मत ल्याउँदै गाउँपाालिका अध्यक्षमा निर्वाचित भएका हुन्।
उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर केसीले ४ हजार ४ सय २४ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा माओवादी केन्द्रकी तारा बुढा केसी निर्वाचित हुनुभएको छ । केसीले ४ हजार ५ सय ६० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी कांग्रेस उपाध्यक्ष नन्दाकुमारी केसी नाथले ४ हजार १ सय ६० मत प्राप्त गर्नुभयो ।
१० वटा वडा रहेको बाँफिकोट गाउँपालिकामा ८ वटामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् भने २ वडामा कांग्रेस विजयी भएको छ।
