लमजुङ, ३ जेठ । जिल्लास्थित सुन्दरबजार नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला नगर प्रमुखमा विजयी हुनुभएको छ । गएराति सम्पन्न मतगणना परिणाम अनुसार ६०५ मत बढी ल्याउँदै कोइराला विजयी हुनुभएको हो ।
उहाँले ६ हजार ६४१ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर गुरुङले ६ हजार ३६ मत प्राप्त गर्नुभएको सुन्दरबजारस्थित निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
त्यस्तै, नगर उपप्रमुखमा एमालेकी भवानी केसी विजयी हुनुभएको छ । उहाँले पाँच हजार १८ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी रामबाबु अधिकारीले दुई हजार २०४ मत प्राप्त गर्नुभयो भने स्वतन्त्रका द्वारिकाप्रसाद मिश्रले चार हजार ४७५ मत प्राप्त गर्नुभएको छ ।
नगरपालिकामा कूल मतदाता २० हजार ७९६ रहेको छ जसमा ९ हजार ९२७ पुरुष र १० हजार ८६९ महिला रहेका छन् । नगरपालिकामा ११ वडा छन् । निर्वाचनमा १४ हजार ५२ मत खसेको थियो ।
फुङ्लिङमा कांग्रेस विजयी
ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङमा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ । आज सम्पन्न भएको मतगणनामा छ हजार १७९ मत प्राप्त गदै कांग्रेसका उम्मेदवार अमिर मादेन विजयी हुनुभएको हो ।
मादेनले नेकपा एमालेका निकटतम प्रतिस्पर्धी छत्रपति प्याकुरेललाई दुई हजार २८७ मतान्तरले पछि पार्दै प्रमुख पदमा विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । प्याकुरेलले तीन हजार ८९२ मत ल्याउनुभयो ।
त्यस्तै चार हजार २७७ मत ल्याएर नेकपा एमालेका उम्मेदवार भीमादेवी ओझा उपप्रमुख पदमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले जनाएको छ । ओझाले प्रतिस्पर्धी माओवादी केन्द्रका बमबहादुर भट्टराईलाई ४३३ मतले पछि पार्दै विजयी हुनुभएको हो । भट्टराईले तीनहजार ८४४ मत प्राप्त गर्नुभएको थियो ।—
