दमौली, २ जेठ । तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवारले विजय हासिल गर्नुभएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा कांग्रेसका तिलबहादुर थापा चार हजार ३०६ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेकपा (एमाले) का दुर्गबहादुर थापाले तीन हजार ४८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत थमनसिं थापाले जानकारी दिनुभयो ।

उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिं गुरुङ तीन हजार ७२१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी एमालेका सावित्री न्यौपानेले तीन हजार ४६७ मत प्राप्त गर्नुभयो । कूल १२ हजार ८१५ मतदातामध्ये गाउँपालिकामा आठ हजार ६४७ मत खसेको थियो । पाँचवटा वडामध्ये देवघाटमा कांग्रेसले तीन र एमालेले दुईवटा वडामा विजय हासिल गरेको छ । कांग्रेसले देवघाट–२, ३ र ५ जितेको छ भने एमालेले १ र ४ वडा जितेको छ ।

म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस

तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ ७१८ मतान्तरले विजयी हुनुभएको छ । श्रेष्ठले चार हजार ९५० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिनुभयो । प्रतिस्पर्धी कांग्रेसका मायादेवी रानाले चार हजार २३२ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा कांग्रेसका बालकृष्ण घिमिरे पाँच हजार ३९ मत प्राप्त गरी विजय हुनुभएको छ । प्रतिस्पर्धी एमालेका रत्नादेवी घिमिरेले चार हजार २०० मत प्राप्त गर्नुभयो । घिमिरे दोस्रो कार्यकालका लागि उपाध्यक्षमा दोहोरिनुभएको हो ।

गाउँपालिकामा कूल १८ हजार १०५ मतदाता रहेकामा ११ हजार ९४३ मत खसेको थियो । विसं २०७४ सालको निर्वाचनमा कांग्रेसकी राना अध्यक्षमा विजयी हुँदा श्रेष्ठ पराजित हुनुभएको थियो । म्याग्दे–१, ३ र ७ मा एमालेले जितेको छ भने वडा नम्बर २, ४, ५ र ६ मा कांग्रेसले जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर