चितवन, २५ वैशाख । देशभरिका मुटु तथा फोक्सो रोग विशेषज्ञहरुको एकदिने पहिलोपटक राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको आयोजनामा भएको सो सम्मेलनमा देशभरका १६८ विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको थियो ।
सम्मेलनमा मुटु तथा फोक्सो रोगसम्बन्धी विशेषज्ञहरूको अनुभव आदान–प्रदानसँगै नयाँ प्रविधिका बारेमा समेत विशेष छलफल गरिएको कार्यक्रम संयोजक एवं समाजका महासचिव डा शङ्कर लौडारीले जानकारी दिनुभयो ।
सम्मेलनमा विश्व र नेपालमा मुटुरोगको अवस्था, रोगका कारण, विश्वमा रोग पत्ता लगाउन र उपचारमा नवीनतम प्रविधि, मुटुरोगबाट बच्नका लागि अपनाउनुपर्ने विधिका बारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।
वंशाणुगत, अस्वस्थकर खानपान र जीवनशैलीका कारण नेपाललगायत विश्वभर दिन प्रतिदिन मुटुका बिरामी बढ्नुका साथै कयौँले अकालमा मृत्युवरण गरिरहेको सो अवसरमा बताइएको थियो ।
हृदयघात विश्वमा मृत्युको मुख्य कारणमध्ये एक हो । जसलाई पनि, जतिबेला पनि हृदयघात भन्दै मुटुरोगी यसको सबैभन्दा बढी जोखिममा हुने बताइएको छ ।
सम्मेलनमा मुटु तथा फोक्सो रोगसम्बन्धी २६ वटा वैज्ञानिक शोधपत्र प्रस्तुत गरिएको थियो । शोधपत्रमार्फत चिकित्सकले मुटु तथा फोक्सोसम्बन्धी विभिन्न रोग, त्यसको निदान तथा उपचार विधिबारे जानकारी दिइएको थियो ।
कार्यक्रममा मुटुरोग विशेषज्ञ, मुटु शल्य चिकित्सक, फोक्सोरोग विशेषज्ञ, भास्कुलर सर्जन, फिजिसियन, नर्स, प्यारामेडिक्सलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा वैज्ञानिक शोधपत्र प्रस्तुत गर्ने चिकित्सक एवं अन्य चिकित्सकहरूलाई सम्मान पनि गरिएको थियो ।
