नयाँ दिल्ली, १९ चैत । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच यहाँस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ ।
त्यस अवसरमा उहाँहरूबीच बहुआयामिक नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । साथै उहाँहरूले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउनेबारेमा पनि छलफल गर्नुभएको थियो ।
दुवै देशका प्रधानमन्त्रीले नेपाल र भारतका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा आपसी हित र साझा चासोका विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपायबारे विचारविमर्श गर्नुभएको थियो ।
नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो मैत्री र सहयोगको विशेष सम्बन्धलाई थप प्रगाढ एवं सुमधुर बनाउने नवीकृत अवसरका रुपमा दुई देशका प्रधानमन्त्रीको यो भेटवार्तालाई लिइएको छ । बहुपक्षीय सहयोग र साझेदारी प्रवद्र्धनका निम्ति भेटवार्ता फलदायी रहेको बताइएको छ ।
त्यसअघि द्विपक्षीय भेटका लागि प्रधामन्त्री मोदीले आफ्ना नेपाली समकक्षीलाई हैदरावाद हाउसमा स्वागत गर्नुभएको थियो ।
सोलु करिडोर प्रसारण लाइनः नेपाल र भारतका प्रधानमन्त्रीद्वारा संयुक्त रुपमा उद्घाटन
प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले आज संयुक्त रुपमा १३२ किलोभोल्ट केभी क्षमताको सोलु करिडोर प्रसारण लाइनको उद्घाटन गर्नुभएको छ ।
भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवा र प्रधानमन्त्री मोदीबीच हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि उहाँहरुले श्रव्यदृश्यका माध्यमबाट उक्त प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो ।
अथक मिहिनेतपछि निर्माण सम्पन्न भएको सोलु करिडोर प्रसारण लाइन उद्घाटनपछि सोलु करिडोरमा निर्माण सम्पन्न भएका र निर्माणका क्रममा रहेका आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्न सहज भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार सो आयोजना गत महिना मात्रै निर्माण सम्पन्न भएको हो ।
सोलु करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत तिङ्गलामा १३२÷३३ केभी, ३० एमभिए र ३३÷११ केभी, ८ एमभिए क्षमताको सबस्टेशन निर्माण गरिएको छ । सबस्टेशन निर्माण सम्पन्न गरी २०७६ भदौ ७ देखि सञ्चालनमा छ । तिङ्ला सबस्टेशनबाटै सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङमा विद्युत् आपूर्ति भइरहेको छ ।
बर्खाको समयमा पूर्ण क्षमतामा चल्न नसकेको २३।५ मेगावाटको सोलु खोला र अन्य निर्माणाधीन जलविद्युत् आयोजनाको प्रसारण पूर्वाधार अभावमा विद्युत् प्रवाहको समस्या समाधानमा प्रसारण लाइनको निर्माणपछि सहज भएको छ ।
ती आयोजनाको विद्युत् सोलु करिडोरमा प्रवाह भएपछि मिर्चैयाबाट पूर्वतर्फ पठाएर सप्तरी, सुनसरी, मोरङ लगायतका जिल्लामा स्वदेशी उत्पादनबाट आपूर्ति दिन सकिने र बढी भएको विद्युत् ढल्केबर सबस्टेशनबाट भारततर्फ निर्यात गर्न पनि सजिलो हुने प्राधिकरणले जनाएको छ । तिङ्ला सबस्टेशनबाट विद्युत् आपूर्ति दिइने हुँदा अब सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङको विद्युत् सेवा भरपर्दो र गुणस्तरीय हुने साथै चुहावट पनि घट्नेछ ।
कूल २३।५ मेगावाटको सोलु खोलासहित १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु खोला ९दूधकोसी० ८२ मेगावाटको तल्लो सोलु खोला लगायतका जलविद्युत् आयोजनाको विद्युत् तिङ्ला सबस्टेशनमा जोडिनेछ । यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत् आयोजनासँग ३२५ मेगावाटको विद्युत् खरिद–बिक्री सम्झौता ९पिपिए० गरेको छ । सोलु करिडोर प्रसारण लाइनको निर्माणमा केही ढिला हुने देखिएपछि २३।५ मेगावाटको सोलु खोला जलविद्युत् आयोजनाको विद्युत् २०७७ को फागुनदेखि अस्थायीरुपमा ३३ केभी लाइनमा जोडिएको थियो ।
