काठमाडौँ, १६ चैत । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचाँै शिखर सम्मेलनले सङ्गठनको बडापत्र अनुमोदन गरको छ ।

श्रव्यदृश्यका माध्यमबाट सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले वडापत्रमा हस्ताक्षर गरेर त्यसलाई अनुमोदन गर्नुभएको हो । बडापत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गर्नुभएको छ ।

सम्मेलनले तीन नयाँ दस्तावेजलाई पनि अनुमोदन गरेको छ । कोलम्बोमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल सरकारका तर्फबाट ‘आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि’ र ‘कोलम्बोमा प्रविधि हस्तान्तरण केन्द्र स्थापनासम्बन्धी संलग्नतापत्र’मा हस्ताक्षर गर्नुभएको कोलम्बोस्थित नेपालको राजदूतावासले जनाएको छ ।

त्यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिव तथा क्षेत्रीय सङ्गठन महाशाखाका प्रमुख घनश्याम भण्डारीले ‘बिम्स्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान÷प्रशिक्षण संस्थाबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्र’मा हस्ताक्षर गर्नुभयो ।

तीन वर्षअघि काठमाडौँमा सम्पन्न चौथो शिखर सम्मेलनले बलियो बिम्स्टेक निर्माण गर्न  बडापत्रको आवश्यकता, सङ्गठनको पुनःसंरचना, सङ्गठनको कार्यक्षेत्र र उपक्षेत्र निर्धारण तथा सचिवालयलाई बलियो बनाउने आधारशिला निर्माणका निम्ति आह्वान गरेको थियो ।

यस अघि प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलङ्काको कोलम्बोमा जारी बिम्स्टेकको पाँचौँ शिखर सम्मेलनलाई आज श्रव्यदृश्यका माध्यमबाट काठमाडौँबाट सम्बोधन गर्दै  सदस्य राष्ट्रको स्रोतको सदुपयोग गरी सङ्गठनलाई नवजीवन दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले कोभिड–१९ महामारीका कारण आर्थिक, सामाजिक एवं विकासका क्षेत्रमा परेका प्रभाव घटाउन तथा बिम्स्टेक क्षेत्रको पुनःस्थापना सुनिश्चित गर्न बिमस्टेकले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

वर्तमान विश्वले जलवायु परिवर्तनलगायत विविध चुनौतीको सामना गरिरहेको, ती चुनौतीको प्रकृति जटिल रहेका बेला कोभिड–१९ को महामारीले निम्त्याएको सङ्कट, सञ्चार तथा सूचना प्रविधिको चरम विकासबाट अथाह लाभ हासिल गर्ने एकथरि र चरम गरिबीको रेखामुनि रहेका वर्गको उत्थानमा त्यसको उपयोग हुन नसक्दा गहिरिएको धनी र गरिबबीचको खाडल पुर्न सदस्य राष्ट्रबीच सहकार्य र साझेदारी आवश्यक भएको प्रधानमन्त्रीले बताउनुभयो ।

विगत दुई वर्षदेखि बिम्स्टेक क्षेत्र पनि महामारीविरुद्धको महालडाइँ लडिरहेको, लाखौँको मृत्यु भएको, धेरै जनता गरिबीमा परेका तथा संरचनात्मक कमजोरीहरू अझ बढिरहेको यथार्थ चित्रण गर्दै उहाँले महामारीको प्रभाव विस्तारै कम हुँदै गएको देखिए पनि त्यो समाप्त नभएकाले यसले आर्थिक र विकासलाई शिथिल बनाउने बताउनुभयो । “खोपको असमानताले उत्थानशील पुनरुत्थानमा अवरोध सृजना भएको छ,” प्रधानमन्त्रीले भन्नुभयो ।

क्षेत्रीय सहयोगको भावना, एकता, सहयोग र सहकार्य, ऐक्यबद्धताको प्रतिज्ञा गर्ने मञ्च बिम्स्टेक शिखर सम्मेलनको उच्च महत्व रहेको बताउँदै उहाँले ब्याङ्कक घोषणामा उल्लिखित शान्ति, प्रगति र समृद्धिको साझा लक्ष्यप्रतिको प्रतिबद्धता दोहो¥याउनुभयोे ।

सडक, रेलमार्ग, हवाई मार्ग र जलमार्ग विस्तारबाट हाम्रा देश, समाज र बजारको एकीकरण, यातायात सञ्जाल, ऊर्जा, र ‘पावर ग्रिड’ अन्तरसम्बन्धमा लगानी गर्न आह्वान गर्दै प्रधानमन्त्रीले बिमस्टेक भित्रको अन्तरक्षेत्रीय व्यापार र लगानीको मात्रा वृद्धि, नवप्रवर्तन, उद्यमशीलतको विकास, वस्तु र सेवाको व्यापार, लगानी प्रवद्र्धन , भन्सार मामिलामा पारस्परिक सहयोग आवश्यक भएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो ।

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी जोड्ने बुद्ध परिपथलाई शीघ्र सञ्चालनका निम्ति आह्वान गर्दै प्रधानमन्त्री देउवाले बुद्ध धर्म बिम्स्टेक क्षेत्रलाई जोड्ने बलियो धागो हो भन्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर