काठमाडौँ, १३ चैत । गृहमन्त्री बलकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताउनुभएको छ ।

शनिबार आक्रमणमा घाइते भएका साहलाई मेडिसिटी अस्पतालमा भेट गरेपछि गृहमन्त्री खाँणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्नै प्रतिबद्धता जनाउनुभएको हो ।गृहमन्त्री खाँणले सांसद साहको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।

पार्टी कामको सिलसिलामा गृहजिल्ला सर्लाही पुग्नुभएका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ । इश्वरपुर नगरपालिका-६ बयलबासमा दुई पक्षबीच भएको झडपमा सांसद साह र उनलाई बचाउने क्रममा सुरक्षा गार्ड घाइते भएका थिए। सांसद साहको टाउकोमा गम्भीर चोट लागेको र अत्यधिक रगत बगेकाले हेलिकप्टरबाट थप उपचारका लागि   काठमाडौं लगिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तुलबहादुर कार्कीले सीके राउतका जनमत पार्टी र जसपाका कार्यकर्ताबीच झडप भएको बताएका छन् ।

गृहमन्त्री खाँणले घटनाको यथार्थ पत्ता लगाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशनसमेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर