काठमाडौँ, ११ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ ।

शुक्रबार प्रारम्भ भएको बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि कांग्रेसले गत फागुन २९ देखि यही चैत २९ गतेसम्म पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ ।

बैठकमा ६ प्रदेशका सभापति र गण्डकी प्रदेशका मुख्यमन्त्रीले आफ्नो धारणा राखेका थिए । धारणा राख्ने अधिकांशले आगामी वैशाख ३० गतेका लागि निर्धारण गरिएको स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका थिए ।   महामन्त्री गगन थापाले बैठकका एजेन्डा प्रस्तुत गरेको बैठकमा सभापति देउवाले आगामी निर्वाचनसम्म सरकारमा सहभागी दलको गठनबन्धन आवश्यक रहेको बताउनु भएको थियो ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा आज केन्द्रीय सदस्यहरू कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादवले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

यसैगरी बैठकमा केन्द्रीय सदस्यहरू सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्रा डा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना, शान्ति परियार र प्रदेश सभापतिहरु—उद्धव थापा (प्रदेश नं १), कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजङ्ग शाही (कर्णाली प्रदेश) ले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । केन्द्रीय समितिको बैठक यही चैत १३ गते आइतबार बिहान ११ बजे पुनः बस्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर