काठमाण्डौं,२६ फागुन । संखुवासभाको मादी नगरपालिका–६ मा आज भएको बस दुर्घटनामा परेर १५ जना यात्रुको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले दिएको जानकारी अनुसार, दुर्घटनाग्रस्त बा ४ ख ७३५ नम्बरको बस मादीको ओखरबोटेबाट झापाको दमकतर्फ आउदै थियो । दुर्घटना घटनास्थलमा १४ जनाको र उपचारका गर्दैगर्दा धरानमा एक जनाको मत्यु भएको हो ।
प्रहरीका अनुसार, घटनास्थलमै मृत्यु हुनेहरूमा मादी नगरपालिका–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३० वर्षीया सीता विक, ५ वर्षीया दीक्षा कटवाल, ३२ वर्षीया अञ्जना कटवाल, मादी नगरपालिका–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा, ५५ वर्षीय भवानी दाहाल मादी नगरपालिका–४ का अन्दाजी ३५ वर्षीय उमेश भट्टराई, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीय सविता राउत कार्की, ६० वर्षीय बलबहादुर कार्की, तेह्रथुम औशीडाँडाका ३५ वर्षीय विपिन निरौला, ताप्लेजुङकी ३१ वर्षीय समीक्षा योन्जन र ताप्लेजुङकै ८ वर्षीय सुदीप घिसिङ रहेका छन् ।
त्यस्तै दुरघटनामा परी घमइते भएकी मादी नगरपालिका-५ की ३० वर्षकी युका पोखरेलको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीलेको भनाइ छ ।
दुर्घटनामा परेर घाइते भएकाहरू मादी नगरपालिका–५ बस्ने ३० वर्षीय सुवास गोले, मादी–६ की २२ वर्षीय तुलसा कटुवाल, अम्बिका विक, ५० वर्षीय डम्बरबहादुर कार्कीको धरानमा उपचार भइरहेको छ ।
घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरले घटनास्थलबाट उद्दार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको थियो ।
ओखरबोटेबाट बस दुर्घटना भएको ठाउँ करिब १३ किलोमिटर टाढा पर्छ ।
मादी नगरपालिका–६ को सातघुम्तीको सुरुकै घुम्तीबाट गाडी लगभग ३०० मिटर तल खसेको थियो ।
