काठमाडौ, २० फागुन । राष्ट्रिय मानव अधिकार आयोगले पल शाह प्रकरणमा अनुसन्धान प्रक्रिया चलिरहेको बेला पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ ।
आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेको हो ।
विज्ञप्तिमा यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने भएकोले संयमित भई अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गरेको छ ।
‘गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ ।’ विज्ञप्तिमा जनाईएको छ ।

